Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026

टोकियो – जापानमा साधारण फोहोर उत्पादनको मात्रा घटेर अहिलेसम्मकै न्यून विन्दुमा पुगेको छ । सरकारी सर्वेक्षणअनुसार आर्थिक वर्ष २०२४ मा फोहोरको कुल मात्रा ३ करोड ८१ लाख १० हजार टनमा झरेको छ । जनसङ्ख्यामा आएको ह्रास र फोहोर विसर्जनमा शुल्क लगाउने जस्ता कडा नीतिहरूका कारण उपभोक्ताको बानीमा आएको परिवर्तनले यो रेकर्ड कायम भएको हो ।

जापानको वातावरण मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार, सन् २०२४ को यो तथ्याङ्क सन् २००० को उच्चतम विन्दुको तुलनामा करिब ७० प्रतिशत मात्र हो । सन् २०१२ यता जापानमा फोहोरको मात्रा लगातार घटिरहेको छ । सरकारले सन् २०३० सम्ममा खाद्य फोहोर न्यूनीकरण र पुनः प्रयोगलाई बढावा दिएर फोहोरको मात्रा ३ करोड ७० लाख टनसम्म झार्ने लक्ष्य राखेको छ।

फोहोर उत्पादनको मात्रा घटे पनि यसको सङ्कलन र भष्मीकरणमा लाग्ने खर्च भने निरन्तर उकालो लागिरहेको छ । मन्त्रालयका अनुसार सन् २०२४ मा फोहोर व्यवस्थापनको कुल लागत अघिल्लो वर्षको तुलनामा ६.९ प्रतिशतले बढेर २ खर्ब ४५ अर्ब येन पुगेको छ । मुख्यतया श्रमिकको ज्याला र इन्धनको मूल्य वृद्धि भएकाले विगत १० वर्षमा व्यवस्थापन खर्च करिब ५०० अर्ब येनले बढेको छ ।

जापानको जनसङ्ख्या सन् २००८ देखि निरन्तर घटिरहेको छ, जसको प्रत्यक्ष असर फोहोर उत्पादनमा देखिएको छ । यसका साथै स्थानीय सरकारहरूले ठूला फोहोर सङ्कलनमा शुल्क लगाउने र जल्ने फोहोरका लागि निश्चित रङ्गीन झोला अनिवार्य गर्ने जस्ता कदमहरू चालेका छन् ।  सन् २०२४ को कुल फोहोरमध्ये घरायसी फोहोरको हिस्सा २ करोड ६३ लाख ७० हजार टन (७० प्रतिशत) रहेको छ भने पसल, कार्यालय र अन्य व्यवसायबाट १ करोड १७ लाख ५० हजार टन फोहोर निस्किएको छ ।

मन्त्रालयले सेकेन्ड ह्यान्ड सामान किनबेच गर्ने ‘फ्लिया मार्केट’ एपहरू र कपडा ‘सेयरिङ’ सेवाहरूको बढ्दो लोकप्रियतालाई पनि फोहोर घट्नुको एउटा महत्वपूर्ण कारण मानेको छ । वातावरण मन्त्रालयका एक अधिकारीले भने, ‘मानिसहरू सीमित प्राकृतिक स्रोत साधनको प्रभावकारी प्रयोग र पुन: प्रयोग गर्ने कुरामा पहिलेभन्दा बढी सचेत हुन थालेका छन् ।’

तपाईको प्रतिक्रिया