टोकियो – जापानमा रहेका नेपाली समुदायबीच आपसी एकता सुदृढ बनाउन र नेपाल–जापान कूटनीतिक सम्बन्धका विविध आयाममाथि छलफल गर्न टोकियोमा ‘महासंवाद-२०२६’ आयोजना हुने भएको छ । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए आईसीसी) जापान र गोरखा समाज जापानको संयुक्त आयोजनामा आगामी मे १० तारिखका दिन यो विशेष कार्यक्रम हुन लागेको हो ।
‘नेपाल-जापान सम्बन्ध र परदेशी नेपाली एकता’ मूल विषय रहेको यस महासंवादमा नेपालका दुई विशिष्ट व्यक्तित्वहरूले मुख्य वक्ताका रूपमा आफ्नो धारणा राख्नुहुनेछ । पूर्व परराष्ट्र सचिव, पूर्व राजदूत तथा पूर्व राष्ट्रसंघीय प्रतिनिधि डा. मदन कुमार भट्टराई र वरिष्ठ सञ्चारकर्मी तथा नेपाल लिडका प्रधान सम्पादक राजेन्द्र बानियाँ यस कार्यक्रमका लागि नेपालबाट टोकियो आउनुहुने भएको छ ।
डा. भट्टराईले दुई देशबीचको ऐतिहासिक कूटनीतिक सम्बन्ध, वर्तमान अवस्था र भविष्यको मार्गचित्रबारे प्रकाश पार्नुहुनेछ भने सञ्चारकर्मी बानियाँले प्रवासमा रहेका नेपालीहरूको भूमिका, एकताको आवश्यकता र उनीहरूले भोगेका चुनौतीका विषयमा संवादको नेतृत्व गर्नुहुनेछ ।
आयोजकका अनुसार यस कार्यक्रमको मुख्य उद्देश्य जापानमा रहेका लाखौं नेपालीहरूलाई एउटै सूत्रमा बाँध्नु र राष्ट्रिय हितका लागि उनीहरूको साझा जिम्मेवारी बोध गराउनु हो । एनआरएनए जापानका अनुसार, ‘यो केवल एउटा औपचारिक कार्यक्रम मात्र नभई जापानमा नेपाली समुदायको उपस्थिति र प्रभावलाई कूटनीतिक तथा सामाजिक रूपमा कसरी अझ सशक्त बनाउने भन्ने विषयमा एउटा सार्थक मन्थन हुनेछ ।’
कार्यक्रम मे १०, २०२६ (आइतबार) का दिन बेलुका १८:०० बजेदेखि २१:०० बजेसम्म टोकियोस्थित प्रतिष्ठित ‘शिन्जुकु बुन्का सेन्टर’मा सम्पन्न हुनेछ । आयोजकले जापानमा रहेका सम्पूर्ण नेपाली संघ-संस्था, व्यवसायी, विद्यार्थी, सञ्चारकर्मी तथा सर्वसाधारणलाई कार्यक्रममा उपस्थित भई छलफललाई निष्कर्षमुखी बनाउन हार्दिक अपिल गरेको छ ।*** 








