Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026

टोकियो – जापानको प्रमुख कन्भिनियन्स स्टोर शृङ्खला ‘फ्यामिलीमार्ट’ले फोहोर न्यूनीकरण गर्ने र ग्राहकहरूलाई आकर्षित गर्ने उद्देश्यले पुराना लुगा र घरयासी सामानहरू सङ्कलन गर्न सुरु गरेको छ । टोकियोका केही छानिएका स्टोरहरूमा यसका लागि विशेष ‘सङ्कलन बाकस’हरू राखिएका छन् ।

पुराना सामान खरिद-बिक्री गर्ने प्रसिद्ध कम्पनी ‘बुकअफ ग्रुप होल्डिङ्स’ सँगको संयुक्त साझेदारीमा यो परीक्षण परियोजना सुरु गरिएको हो । हाल टोकियोका आवासीय क्षेत्रमा रहेका करिब ३० वटा फ्यामिलीमार्ट स्टोरहरूमा यस्ता बाकसहरू राखिएका छन् ।

सङ्कलन गरिएका सामानहरूमध्ये उपयुक्त वस्तुहरूलाई बुकअफले मलेसिया लगायतका वैदेशिक बजारमा पुनः बिक्री गर्ने योजना बनाएको छ । फ्यामिलीमार्टका अनुसार, पुनः प्रयोग गर्न नमिल्ने अवस्थाका लुगाहरूलाई भने मेसिनमार्फत नयाँ धागो (Fiber) बनाउन पुनर्चक्रण गरिनेछ ।

फ्यामिलीमार्टको माउ कम्पनी ‘इतोचु कर्पोरेसन’ र बुकअफ ग्रुपबीच गत फेब्रुअरीमा भएको पूँजीगत साझेदारीपछिको यो पहिलो सहकार्य हो । यसअघि फ्यामिलीमार्टले जापानका करिब ४,९०० स्टोरहरूमा ‘फूड ड्राइभ’ कार्यक्रम सञ्चालन गर्दै आएको छ, जहाँ मानिसहरूले बढी भएको खाद्यान्न जम्मा गरी विपन्नहरूलाई दान गर्न सक्छन् ।

जापानको वातावरण मन्त्रालयको तथ्याङ्क उद्धृत गर्दै फ्यामिलीमार्टले जनाए अनुसार, जापानमा वार्षिक करिब ५ लाख ६० हजार टन कपडा फोहोरका रूपमा फालिन्छ । यो परिमाण बजारमा उपलब्ध गराइने नयाँ लुगाको झन्डै ७० प्रतिशत बराबर हो ।

यो अभियान सफल भएमा फ्यामिलीमार्टले यसलाई देशभरका स्टोरहरूमा विस्तार गर्ने लक्ष्य राखेको छ । यसबाट वार्षिक करिब ४,००० टन कपडा फोहोर हुनबाट जोगिने कम्पनीको अपेक्षा छ ।

जापानमा कपडा पुनर्चक्रण एक गम्भीर सामाजिक मुद्दा बन्दै गएपछि अन्य ठूला कम्पनीहरू पनि यसमा सक्रिय भएका छन् । ‘फास्ट रिटेलिङ’ अन्तर्गतका युनिक्लो र जीयू स्टोरहरूले पुराना लुगा सङ्कलन गरी शरणार्थीहरूलाई सहयोग गर्दै आएका छन् भने अर्को ठूलो रिटेलर ‘इओन’ले पनि आफ्ना ७०० भन्दा बढी स्थानमा सङ्कलन केन्द्रहरू स्थापना गरेको छ ।

तपाईको प्रतिक्रिया