Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026

टोकियो – मध्य जापानको इनुयामा सहरले आफ्नो १३०० वर्ष पुरानो ऐतिहासिक ‘कोर्मोरेन्ट’ चराबाट माछा मार्ने परम्परालाई जीवित राख्न ३४ वर्षमा पहिलोपटक नयाँ माझीहरूको भर्ना प्रक्रिया सुरु गरेको छ ।

‘उशो’ भनिने यस्ता माझी बन्नका लागि २० देखि ३० वर्ष उमेर समूहका १४ जना युवाहरूले आवेदन दिएका छन् । सहरले यो ऐतिहासिक विरासतलाई नयाँ पुस्तामा हस्तान्तरण गर्न लिखित परीक्षा, अन्तर्वार्ता र शारीरिक तन्दुरुस्ती परीक्षणमार्फत योग्य उम्मेदवार छनोट गर्दैछ ।

जापानमा ‘उकाई’ भनिने यस परम्परामा माझीहरूले तालिम प्राप्त कोर्मोरेन्ट चराहरूको प्रयोग गरेर ‘स्वीटफिस’ माछा मार्ने गर्दछन् । इनुयामा सहरको उत्तरी छेउमा बग्ने किसो नदीमा हरेक वर्ष जुनदेखि अक्टोबरसम्म यो प्रदर्शन गरिन्छ । गत वर्ष मात्रै १७ हजारभन्दा बढी पर्यटकहरूले डुङ्गामा चढेर यो अनौठो माछा मार्ने कलाको अवलोकन गरेका थिए ।

जापानका अन्य स्थानहरू (जस्तै गिफु प्रान्त) मा यस्ता माझीहरूलाई ‘शाही गृह एजेन्सी’ अन्तर्गत राष्ट्रिय कर्मचारीका रूपमा राखिन्छ, जसले मारेका माछाहरू शाही परिवारलाई उपहार स्वरूप पठाइन्छ । तर, इनुयामा जापानको यस्तो एकमात्र स्थान हो जहाँ यी माझीहरूलाई नगरपालिकाले आफ्नै कर्मचारीका रूपमा नियुक्त गर्दछ । सन् १९६४ मा व्यक्तिगत रूपमा यो व्यवसाय टिकाउन गाह्रो भएपछि सहरले यसलाई सरकारी परियोजनाका रूपमा स्विकारेको थियो ।

छनोट भएका नयाँ माझीहरूले माझी बन्नुअघि धेरै वर्षसम्म कडा तालिम लिनुपर्नेछ। उनीहरूले चराहरूको स्वभाव बुझ्ने, माछा मार्न प्रयोग गरिने डोरीको सन्तुलन मिलाउने र विशेष उपकरणहरू बनाउने सीप सिक्नुपर्नेछ । एक ‘उशो’ को दिनचर्या बिहानैदेखि सुरु हुन्छ। उनीहरूले सहरमा रहेका करिब ५० वटा चराहरूको स्वास्थ्य जाँच गर्ने, उनीहरूलाई खाना खुवाउने र चरा बस्ने घर सफा गर्ने काम गर्नुपर्छ। यो जिम्मेवारी वर्षको ३६५ दिन नै (नयाँ वर्षको दिनमा पनि) निभाउनुपर्ने हुन्छ ।

इनुयामामा यो परम्परा सन् १६५९ मा सुरु भएको मानिन्छ । बीचमा जीवहत्यामा प्रतिबन्ध लाग्दा यो रोकिएको थियो, तर सन् १८९९ मा पुनः सुरु गरियो । हाल कार्यरत चार माझीमध्ये दुई जनाले यसै वर्ष अवकाश लिएपछि नयाँ माझीहरूको खाँचो परेको हो। नयाँ माझीहरू पूर्ण रूपमा तयार नभएसम्म यस सिजनमा माछा मार्ने डुङ्गाहरूको सङ्ख्या दुईबाट घटाएर एउटामा सीमित गरिने पर्यटन विभागले जनाएको छ ।

तपाईको प्रतिक्रिया