Deneme Bonusu Veren Siteler
सोमवार, असार १, २०८३
Monday, June 15, 2026

काठमाडौं – इरान र इजरायलबीचको बढ्दो सैन्य तनावका बीच मध्यपूर्वी मुलुकहरूमा रहेका नेपालीहरूलाई सचेत रहन नेपाल सरकारले विशेष आग्रह गरेको छ । विशेषगरी युद्धका क्रममा खसेका मिसाइलका भग्नावशेष (फलिङ डेब्रिस) को फोटो-भिडियो खिच्ने र सामाजिक सञ्जालमा भ्रामक सामग्री पोस्ट गर्ने कार्यले सुरक्षा र कानुनी जोखिम निम्त्याउने भन्दै सरकारले सचेत गराएको हो ।

हालै दुबई प्रहरीले एक चेतावनीमूलक भिडियो सार्वजनिक गर्दै संवेदनशील क्षेत्रमा भिडियो नखिच्न र अफवाह नफैलाउन कडाइ गरेको छ । यूएई, कतार र साउदी अरेबियालगायतका देशले यस्ता गतिविधिमा संलग्नलाई कडा कारबाही गर्ने र रिपोर्ट गर्ने चेतावनी दिएका छन् । यस्तो अवस्थामा त्यहाँ कार्यरत कतिपय नेपालीहरू जोखिम मोलेरै भिडियो बनाउने र सामाजिक सञ्जालमा राख्ने कार्यमा संलग्न देखिएपछि परराष्ट्र मन्त्रालयले ध्यानाकर्षण गराएको हो ।

परराष्ट्र मन्त्रालयका सहसचिव रामकाजी खड्काले पत्रकार सम्मेलनमार्फत अफवाह फैलाउने खालका फोटो र भिडियो सार्वजनिक नगर्न अपिल गरे । ‘१७ लाखभन्दा बढी नेपाली रहेको क्षेत्रमा एउटा सानो गलत सूचनाले पनि नेपालमा रहेका परिवारलाई ठूलो चिन्तामा पार्न सक्छ,’ सहसचिव खड्काले भने, ‘एआईको जमानामा भ्रमपूर्ण कन्टेन्ट बनाउन सजिलो छ, त्यसैले सत्यतथ्य बुझेर मात्र सूचना सम्प्रेषण गर्न जरुरी छ ।’

सरकारले संवेदनशील र जोखिमयुक्त क्षेत्रमा नजान, स्थानीय प्रशासनले जारी गरेको सुरक्षा निर्देशन (एड्भाइजरी) अक्षरशः पालना गर्न र संयमित रहन प्रवासी नेपालीहरूलाई अनुरोध गरेको छ । कन्टेन्ट क्रिएट गर्ने बहानामा असुरक्षित स्थानमा नजान र कानुनी झमेलाबाट बच्न समेत मन्त्रालयले सचेत गराएको छ ।

तपाईको प्रतिक्रिया