टोकियो – जापानको पर्यटनमा रुचि राख्ने जो कोहीका लागि एउटा दृश्य निकै परिचित छ- अगाडि एउटा पाँचतले प्यागोडा, वरिपरि ढकमक्क फुलेका चेरी ब्लोसम (साकुरा) का रूखहरू र पृष्ठभूमिमा हिउँले ढाकिएको माउन्ट फुजी । जापानको पहिचान झल्काउने यो सुन्दर दृश्य देखिने स्थान हो- यामानाशी प्रान्तको फुजियोशिदा शहरमा अवस्थित ‘अरकुरायामा सेङ्गेन पार्क’ ।
विगत एक दशकदेखि जापानको पर्यटनको ‘पोस्टर’ बनेको यो पार्कले यस वर्ष एउटा अप्रत्याशित निर्णय गरेको छ । पर्यटकहरूको अत्यधिक चाप (ओभरटुरिजम) र उनीहरूको अभद्र व्यवहारका कारण १० वर्षदेखि सञ्चालन हुँदै आएको ‘अरकुरायामा सेङ्गेन पार्क साकुरा महोत्सव’ यस वर्षका लागि रद्द गरिएको छ ।
फुजियोशिदा नगरपालिकाका अनुसार, यो निर्णय हुनुको मुख्य कारण पर्यटकहरूको अनियन्त्रित भीड र उनीहरूले स्थानीय बासिन्दालाई पुर्याएको कष्ट हो । करिब ४५ हजार जनसंख्या भएको यो शहरमा महोत्सवका बेला थप २ लाखभन्दा बढी पर्यटक ओइरिने गरेका छन् । पर्यटकहरूको संख्या मात्र समस्या नभएर उनीहरूको व्यवहारले सीमा नाघेको स्थानीय प्रशासनको ठहर छ ।
नगरपालिकाका अनुसार स्थानीय बासिन्दाले पर्यटकहरूका विरुद्ध निम्न उजुरीहरू दर्ता गरेका छन् :-
- अत्यधिक ट्राफिक जामका कारण दैनिक जीवन कष्टकर बनेको ।
- पर्यटकहरूले फुटपाथ ओगटिदिँदा स्कूल जाने बालबालिका सडकबाट हिँड्न बाध्य भएको ।
- अनुमतिबिना निजी घर र बगैँचामा प्रवेश गरेको ।
- जथाभावी चुरोटका ठुटा फाल्ने र फोहोर गरेको ।स्था
- नीयको बगैँचामा दिसा-पिसाब गर्ने गरेको ।
- शौचालय प्रयोग गर्ने बहानामा अनुमतिबिना नै स्थानीयको घरभित्र छिर्ने गरेको ।
महोत्सव रद्द गर्ने निर्णयबारे बोल्दै फुजियोशिदाका नगर प्रमुख शिगेरु होरिउचीले भनेका छन्, ‘हाम्रा लागि माउन्ट फुजी केवल पर्यटनको स्रोत मात्र होइन, यो हाम्रो जीवनशैलीको अभिन्न हिस्सा हो । तर अहिलेको स्थितिले हाम्रा नागरिकको शान्तिपूर्ण जीवन संकटमा परेको छ । मेरो पहिलो प्राथमिकता शहरका बासिन्दाको जीवनस्तर र मर्यादाको रक्षा गर्नु हो । त्यसैले हामीले १० वर्षपछि यो महोत्सव अन्त्य गर्ने निर्णय गरेका छौँ ।’
महोत्सव नभए पनि पार्क खुल्लै रहने
महोत्सव रद्द हुनुको अर्थ यस वर्ष शहरले आधिकारिक रूपमा यसको प्रचारप्रसार गर्ने छैन र त्यहाँ कुनै व्यापारिक स्टलहरू राखिने छैनन् । यद्यपि, साकुरा फुल्ने समयमा पर्यटकहरूको आगमन रोकिने छैन भन्ने कुरामा प्रशासन सचेत छ । त्यसैले अप्रिलको पहिलो दुई हप्ता ट्राफिक व्यवस्थापन र सुरक्षाका लागि स्वयंसेवक तथा सुरक्षाकर्मी परिचालन गरिने र अस्थायी शौचालयको व्यवस्था गरिने बताइएको छ ।
यो घटनाले जापानको वर्तमान पर्यटन संकटलाई उजागर गरेको छ । एकातिर स्थानीय प्रशासन आफ्ना सम्पदाको प्रचार गर्न चाहन्छन्, अर्कोतिर पर्यटकको भीडले स्थानीय संस्कृति र मर्यादामा आँच पुर्याइरहेको छ ।
अधिकारीहरूका अनुसार, यदि पर्यटकहरूले स्थानीय समुदायप्रति सम्मानजनक व्यवहार नगर्ने हो भने जापानका अन्य प्रसिद्ध पर्यटकीय स्थलहरूले पनि यस्तै कठोर कदम चाल्न सक्ने सम्भावना बढेको छ । हालका लागि फुजियोशिदाले आफ्नो प्रसिद्ध महोत्सवलाई अनिश्चितकालका लागि थाँती राख्ने निर्णय गरेको छ ।








