टोकियो – जापानमा आगामी आइतबार हुने तल्लो सदन (हाउस अफ रिप्रिजेन्टेटिभ्स) को निर्वाचनका लागि राजनीतिक दलहरूले आ-आफ्ना मुख्य एजेण्डाहरू सार्वजनिक गरेका छन् । सत्तारुढ गठबन्धनले ‘मुलुकको शक्ति र सुरक्षा’लाई जोड दिएको छ भने प्रतिपक्षी दलहरूले ‘जनताको दैनिक जीवन र महँगी’लाई चुनावी मुद्दा बनाएका छन् ।
प्रधानमन्त्री सानाए ताकाइचीको नेतृत्वमा रहेको सत्तारुढ लिबरल डेमोक्र्याटिक पार्टी (एलडिपी)ले जापानलाई ‘बलियो र समृद्ध’ बनाउने संकल्पका साथ जनमत मागेको छ । सुरक्षा मामिलामा कडा नीतिका पक्षपाती ताकाइचीले अर्थतन्त्रलाई गति दिन वित्तीय खर्च बढाउने र चीन तथा उत्तर कोरियासँगको बढ्दो तनावका बीच मुलुकको रक्षा क्षमता सुदृढ गर्ने रणनीति अघि सार्नुभएको छ । सत्ता साझेदार ‘जापान इनोभेसन पार्टी’ (नियोन इसिन) ले पनि विकास र गतिशीलतालाई नै आफ्नो मुख्य नारा बनाएको छ ।
यता, प्रतिपक्षी दलहरूले भने आम नागरिकको जीवनस्तर सुधारलाई केन्द्रमा राखेका छन् । कोमेइतो र कन्स्टिच्युसनल डेमोक्रेटिक पार्टी सम्मिलित ‘सेन्ट्रिस्ट रिफर्म एलायन्स’ले ‘साधारण नागरिक पहिलो र जनजीविका केन्द्रमा’ हुनुपर्ने एजेण्डा ल्याएको छ । अर्को प्रतिपक्षी दल ‘डेमोक्रेटिक पार्टी फर द पिपुल’ले कर्मचारीको वास्तविक तलब वृद्धि गर्ने बाचा गरेको छ ।
जापानी मतदाताहरू अहिले चर्को मूल्यवृद्धिको मारमा छन् । पछिल्लो सर्वेक्षणमा अधिकांश मतदाताले ‘महँगी नियन्त्रण’लाई आफ्नो मुख्य प्राथमिकता बताएका छन् । यद्यपि, सर्वेक्षणले ४६५ सिटका लागि हुने यस निर्वाचनमा सत्तारुढ एलडीपीकै पक्षमा जनसमर्थन बलियो रहेको संकेत गरेको छ । ४२ प्रतिशतभन्दा बढी उत्तरदाताले सत्तारुढ दलकै बहुमत चाहेको देखिएको छ ।
कम्युनिस्ट पार्टी र रेइवा सिन्सेन्गुमी लगायतका दलहरूले पनि मानव अधिकार, शान्ति र महँगी विरुद्धका एजेण्डा उठाएका छन् । आइतबार हुने मतदानले जापानको आगामी राजनीतिक र आर्थिक दिशा तय गर्नेछ ।








