टोकियो – जापानको पर्यटन मन्त्रालयले ऐतिहासिक र सांस्कृतिक सम्पदाको उपयोग गरी नगर विकास गर्ने स्थानीय निकायहरूलाई दिइने आर्थिक अनुदानमा उल्लेख्य वृद्धि गर्ने भएको छ । सन् २०२६ को अप्रिलदेखि लागू हुने गरी मन्त्रालयले ऐतिहासिक भवनहरूको जीर्णोद्धार र परम्परागत जात्रा-पर्व संरक्षणका लागि देशभरका नगरपालिकाहरूलाई अनुदान उपलब्ध गराउने योजना अघि सारेको हो ।
यस कदमको मुख्य उद्देश्य टोकियो र ओसाका जस्ता प्रमुख सहरहरूमा बढ्दो पर्यटकीय चाप (ओभरटुरिज्म) लाई कम गर्नु र पर्यटकहरूलाई देशका अन्य ग्रामीण तथा ऐतिहासिक क्षेत्रहरूमा आकर्षित गर्नु रहेको छ । हालसम्म राष्ट्रिय सम्पदा वा विशेष ऐतिहासिक स्थलका रूपमा सूचीकृत क्षेत्र भएका नगरपालिकाले मात्र यस्तो अनुदान पाउने व्यवस्था थियो। तर, नयाँ नीति अनुसार अब स्थानीय तहले तोकेका सांस्कृतिक र ऐतिहासिक सम्पदा भएका ‘लगभग सबै’ नगरपालिकाहरू यसका लागि योग्य हुने मन्त्रालयले जनाएको छ ।
अनुदानको दायरालाई पनि फराकिलो बनाइएको छ। यसअघि भवनहरूको बाहिरी संरचना मर्मतका लागि मात्र सीमित रहेको अनुदान अब भित्री सजावट, सडक सुधार र ढुङ्गा बिछ्याउने जस्ता पूर्वाधार निर्माणमा समेत खर्च गर्न पाइनेछ । यस्ता परियोजनाको कुल लागतको करिब आधा हिस्सा सरकारले व्यहोर्नेछ । साथै, स्थानीय संस्कृति र जात्रा संरक्षणका लागि १ करोड येनसम्मको अतिरिक्त वित्तीय सहयोग उपलब्ध गराइनेछ ।
सन् २०२५ मा जापानमा कीर्तिमानी ४ करोड २७ लाख विदेशी पर्यटक भित्रिएका थिए । जापान सरकारले सन् २०३० सम्ममा वार्षिक ६ करोड पर्यटक भित्र्याउने र उनीहरूबाट १५० खर्ब येन आम्दानी गर्ने लक्ष्य राखेको छ । यसै लक्ष्यलाई पछ्याउँदै सरकारले क्षेत्रीय पर्यटनलाई नयाँ उचाइमा पुर्याउन यो ऐतिहासिक पहल सुरु गरेको हो ।








