
काठमाडौँ – अभिनेता सलमान खान अभिनित फिल्म ‘ब्याटल अफ गलवान’ को एक गीत शनिबार सार्वजनिक गरिएको छ। ‘मातृभूमि’ बोलको उक्त गीतमा नेपाली अभिनेता अनुपविक्रम शाही पनि सलमान खानसँगै एउटै फ्रेममा देखिएका छन्। देशभक्तिको भावना समेटिएको गीतमा अनुपविक्रम र सलमान एउटै फ्रेममा देखिएका छन्। केही समयअघि अनुपविक्रम सलमानसँग फिल्म खेल्दै छन् भन्ने समाचार आएको थियो। अहिले भने उनी सोही फिल्मको गीतमार्फत सलमानसँगै देखिएका हुन्।
गीतमा अरिजित सिंह, श्रेया घोषाल र मणि धर्मकोटको स्वर रहेको छ। सलमान खान फिल्म्सको प्रस्तुति रहेको यस फिल्मको निर्देशन अपूर्व लाखियाले गरेका हुन्। फिल्म सन् २०२० मा गलवान क्षेत्रमा भारत र चीनबीच भएको झडपको कथामा आधारित छ।
फिल्ममा सलमान खान र चित्रांगदा सिंह मुख्य भूमिकामा छन्। साथै, नेपाली अभिनेता अनुपविक्रम शाहीसँगै स्वर्गीय गायक तथा अभिनेता प्रशान्त तामाङको पनि अभिनय रहेको छ। ‘ब्याटल अफ गलवान’ आगामी १७ अप्रिल (वैशाख ४) देखि प्रदर्शनमा आउनेछ।








