
टोकियो – संयुक्त राज्य अमेरिकाले यो साता नेपाल, पाकिस्तान, अफगानिस्तान र बाङ्ग्लादेशसहित विश्वभरि ७५ देशका नागरिकका लागि आप्रवासी भिसा दिने प्रक्रिया अनिश्चितकालका लागि स्थगित गर्ने निर्णय गरेको छ ।
उक्त निर्णय ज्यानुअरी २१ देखि लागू हुने छ । अमेरिकी विदेश मन्त्रालयका अनुसार सरकारले उपलब्ध गराउने कल्याणकारी कार्यक्रम र सुविधाको दुरुपयोग रोक्ने उद्देश्यले यो निर्णय गरिएको हो ।
गत वर्ष राष्ट्रपति बनेदेखि डोनल्ड ट्रम्पले अन्य देशबाट वैध र अवैध दुवै तरिकाबाट हुने आप्रवासन नियन्त्रण गर्ने नीति अवलम्बन गरेका छन् ।
अहिलेको निर्णय सार्वजनिक गर्दै विदेश मन्त्रालयले अमेरिका आउने आप्रवासीहरू आर्थिक रूपमा आत्मनिर्भर हुनुपर्ने र तिनले अमेरिकी नागरिकहरूलाई आर्थिक भार थप्न नहुने ट्रम्पको मान्यता रहेको स्पष्ट पारेको छ ।
“उच्च जोखिम” का राष्ट्र भनेर सूचीकृत ७५ देशका नागरिकले अमेरिकी सरकारले उपलब्ध गराउने कल्याणकारी सुविधा नलिऊन् र उनीहरू सार्वजनिक भार नबनून् भन्ने सुनिश्चित गर्न विदेश मन्त्रालयले सबै नीति तथा नियम समीक्षा गर्न थालेको जनाएको छ ।
अमेरिकाले आफ्ना नागरिक तथा वैध रूपमा अमेरिकामा स्थायी बसोबास अनुमति लिएका ग्रीनकार्डधारक व्यक्तिका नातेदार, अमेरिकामा स्थायी काम गर्ने विदेशी वा लगानी गर्ने उद्यमी, अमेरिकी नागरिकले धर्मसन्तान बनाएका विदेशी बालबालिका, अमेरिका सरकारका पूर्वकर्मचारीसहितका विशिष्ट वर्गमा पर्ने व्यक्तिहरू तथा चिट्ठाबाट डाइभर्सिटी भिसा (डीभी) परेका योग्य विदेशी नागरिकलाई आप्रवासनका लागि भिसा दिँदै आएको छ ।
ट्रम्प प्रशासनले ब्राजिल, इरान, रुस र सोमालियाका नागरिकले आप्रवासी भिसाका लागि दिएका आवेदन हेर्ने प्रक्रिया यसअघि नै स्थगित गरिसकेको छ ।
अमेरिकी विदेश मन्त्रालयले प्रक्रिया स्थगन भएको अवधिमा भिसा जारी नहुने भए पनि प्रभावित देशका नागरिकले आप्रवासनका लागि भिसा आवेदन गर्न र अन्तर्वार्ता दिन पाउने तथा आवेदकका लागि अन्तर्वार्ताको मिति निर्धारण जारी रहने जनाएको छ । यद्यपि समाचारसंस्था एपीका अनुसार विदेश मन्त्रालयले सम्बन्धित देशमा रहेका आफ्ना अधिकारीलाई आप्रवासी भिसाका लागि गरिएका आवेदनहरू यथास्थितिमा राख्न निर्देशन दिएको छ ।
अहिलेको निर्णयअनुसार आप्रवासी भिसा लिइसकेका व्यक्ति र अन्य केही वर्गका आवेदक भने प्रभावित हुने छैनन् ।








