टोकियो – जापानको एक उच्चस्तरीय सरकारी सल्लाहकार समितिले मुलुकमा अवैध रोजगारी नियन्त्रण गर्न अध्यागमन प्रणालीलाई थप मजबुत बनाउनुपर्ने सुझाव सरकारलाई दिएको छ । समितिले सोमबार आफ्नो प्रतिवेदन बुझाउँदै विदेशी नागरिकहरूका लागि जापानी भाषा सिक्ने र यहाँको संस्कृति बुझ्ने अवसरहरू बढाउनुपर्नेमा पनि विशेष जोड दिएको छ ।
अधिकांश प्राज्ञिक व्यक्तित्वहरू सम्मिलित उक्त समितिले जापानका न्याय मन्त्री हिरोशी हिरागुचीलाई आफ्ना सिफारिसहरू बुझाएको हो । पछिल्लो समय जापानमा विदेशी बासिन्दाहरूको संख्या तीव्र रूपमा बढिरहेको सन्दर्भमा, जापानी र गैर-जापानी बासिन्दाबीच सहअस्तित्व कायम गर्दै ‘समावेशी समाज’ निर्माण गर्ने उद्देश्यले न्याय मन्त्रालयले आफ्नो अध्यागमनसम्बन्धी आधारभूत योजना अद्यावधिक गर्ने तयारी गरिरहेको छ ।
समितिले बुझाएको प्रतिवेदनमा भिसा दुरुपयोगका घटनाहरूप्रति गम्भीर चिन्ता व्यक्त गरिएको छ । विशेष गरी इन्जिनियर, दोभाषे र अन्तर्राष्ट्रिय सेवाका पेशेवरहरूका लागि जारी गरिने ‘विशिष्ट भिसा’ वाहक विदेशीहरूलाई समेत अवैध रूपमा अदक्ष कामदारका रूपमा खटाइएको पाइएको प्रतिवेदनमा उल्लेख छ ।
यस्तो प्रवृत्तिलाई रोक्न समितिले अध्यागमन अधिकारीहरूलाई स्थितिको सुक्ष्म निगरानी गर्न र हालको अध्यागमन नियन्त्रण तथा बसोबास व्यवस्थापन प्रणालीमा आवश्यकता अनुसार तत्काल सुधार गर्न आग्रह गरेको छ ।
नियमनमा कडाइसँगै समितिले विदेशी बासिन्दाहरूलाई जापानी समाजमा सहज रूपमा घुलमिल हुन सघाउनुपर्ने पनि औंल्याएको छ। यसका लागि विदेशीहरूको जापानी भाषा सीप सुधार गर्न र उनीहरूलाई जापानी संस्कृति तथा रीतिरिवाजहरूबारे जानकारी दिन विशेष गोष्ठी तथा कार्यक्रमहरू आयोजना गर्नुपर्ने सुझाव दिइएको छ ।
अध्यागमन सेवा एजेन्सीले हरेक पाँच वर्षमा तयार पार्ने ‘अध्यागमन नियन्त्रण तथा बसोबास व्यवस्थापन आधारभूत योजना’ मा यस प्रतिवेदनका सुझावहरूलाई समेट्ने बताइएको छ । सन् १९९० मा स्थापित यो सल्लाहकार बोर्डले गत डिसेम्बरयता १० वटा बैठक सम्पन्न गरिसकेको छ । बोर्डको अध्यक्षता हितोत्सुबासी विश्वविद्यालयका कार्यकारी उपाध्यक्ष किकुमी नोगुचीले गरिरहेकी छिन् ।








