टोकियो – घरको हिउँ खस्ने विषयमा विवाद हुँदा छिमेकीको ढोका फोडेको आरोपमा जापानको होक्काइडोस्थित कुशिरोमा एक ७२ वर्षीय वृद्ध पक्राउ परेका छन् । सम्पत्तिमा क्षति पुर्याएको अभियोगमा स्थानीय प्रहरीले ती वृद्धलाई नियन्त्रणमा लिएको हो ।
पेसाले माछा मार्ने ती वृद्धले शनिबार दिउँसो करिब १ बजेतिर ५७ वर्षीया छिमेकी महिलाको घरको मूल ढोकाको सिसा बेल्चा (साभेल) ले हानेर फुटाएका थिए । प्रहरीका अनुसार ती पुरुष र महिला छिमेकी हुन् ।
घटनाबारे बयान दिँदै अभियुक्तले भनेका छन्, ‘म हिउँ पन्छाउँदै थिएँ, तर ती महिलाको घरबाट मेरो जग्गामा लगातार हिउँ खसिरह्यो ।’ रिसको आवेगमा उनले सो कदम चालेको बुझिएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।








