टोकियो – ओसाका वर्ल्ड एक्स्पोमा अवलोकनकर्ताहरूको ठूलो भीडलाई आकर्षित गरेको र शरीरलाई पूर्ण रूपमा सफा गरी सुकाउने क्षमता भएको ‘ह्युमन वासिङ मेसिन’ सन् २०२६ मा सर्वसाधारणका लागि बिक्रीमा आउने भएको छ ।
यसको विकासकर्ता ‘साइन्स कम्पनी’का अनुसार आगामी मार्च महिनादेखि वृद्धाश्रम तथा ज्येष्ठ नागरिक स्याहार केन्द्रहरूमा यसको आपूर्ति सुरु गरिनेछ भने सन् २०२६ को अन्त्यसम्ममा सर्वसाधारण उपभोक्ताका लागि बजारमा उपलब्ध गराइनेछ । ओसाकामा आधारित बाथ तथा सावर उपकरण निर्माता कम्पनीका अध्यक्ष यासुआकी आओयामाले भने, ‘यो मेसिनले प्रयोगकर्ता र अशक्तहरूको हेरचाह गर्ने व्यक्ति दुवैका लागि नुहाउने बोझ कम गर्नेछ ।’
कस्तो छ मेसिन र प्रविधि ?
यो मेसिन हेर्दा उठेको आयताकार बाथटबजस्तै देखिन्छ । प्रयोगकर्ताहरू छेउको ढोकाबाट भित्र पसेर कुर्सीमा बस्न सक्छन् । यसमा ‘फाइन-बबल’ प्रविधि प्रयोग गरिएको छ, जसले अति मसिना फोकाहरू उत्पादन गर्छ । यी फोकाहरू छालाका साना छिद्रहरूमा पसेर फोहोर निकाल्न सक्षम हुन्छन् ।
यस प्रविधिका कारण साबुनको प्रयोग वा शरीर रगड्नुपर्ने आवश्यकता बिना नै करिब १० मिनेटको एक सेसनमा टाउकोदेखि खुट्टासम्म पूरै शरीर सफा हुन्छ । साथै, मेसिनले शरीर सुकाउने काम पनि आफैं गर्छ ।
मूल्य र इतिहास
कम्पनीले यो मेसिनको बजार मूल्य १४ लाख ५० हजार जापानी येन (करिब ९ हजार २०० अमेरिकी डलर) तोकेको छ । अध्यक्ष आओयामाले भने, ‘हामीले मानिसलाई टाउकोदेखि खुट्टासम्म सफा गर्ने ह्युमन वासिङ मेसिनको वास्तविक संस्करण तयार गरेका छौं ।’
मान्छे धुने मेसिनको अवधारणा पहिलो पटक सन् १९७० को ओसाका एक्स्पोमा देखा परेको थियो । कम्पनीका अनुसार यस वर्षको एक्स्पोमा करिब १,३०० आगन्तुकले यो मेसिनको अनुभव लिएका थिए । देश तथा विदेशबाट यस प्रविधिलाई व्यावसायिक रूपमा ल्याउन धेरै अनुरोध आएपछि कम्पनीले यसलाई बजारमा ल्याउने निर्णय गरेको हो ।








