समाचार सुन्नुहोस :
काठमाडौँ – कोशी प्रदेशमा लम्पी स्किन रोग फेरि फैलिएको छ। २०७९ फागुनदेखि ०८० साउनसम्म यो रोगले ९ हजार ४२१ गाई, भैंसी, राँगा मारेको थियो। सबैभन्दा बढी मृत्यु इलाम (२,१६०) र झापा (२,०८४) जिल्लामा भएको थियो। त्यो समयमा करिब २ लाख ८१ हजार पशुचौपाया प्रभावित भएका थिए।
गत वर्ष तीनै तहका सरकारहरूले खोप अभियान चलाएपछि रोग नियन्त्रणमा आएको थियो। तर, यस वर्ष पुनः फैलिएको यो रोगका कारण हालसम्म ६३७ पशु मरेका छन् र २२ हजार १२२ प्रभावित भएका छन्। यसपटक झापा सबैभन्दा प्रभावित बनेको छ, जहाँ ४१० पशु मरेका र १४ हजार ६९२ बिरामी भएका छन्। त्यसपछि मोरङ, इलाम, सुनसरीमा संक्रमण बढी देखिएको छ।
संखुवासभा, ओखलढुंगा र सोलुखुम्बु भने हालसम्म सुरक्षित छन्। पशुचौपायालाई नियमित खोप नलगाइँदा किसानले पुनः ठूलो क्षति बेहोर्नुपरेको छ। विशेषज्ञहरूका अनुसार खोप छुटेकामध्येमा मात्र संक्रमण देखिएको छ। रोग रोकथामका लागि खोपलाई राष्ट्रिय कार्यक्रममा समावेश गर्न आवश्यक छ।








