काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूलाई कुनै पदको मोह वा लालसा नभएको स्पष्ट पार्दै सक्रिय राजनीतिमा फर्कनु देश र जनताको सेवा गर्ने आफ्नो संकल्प भएको बताएकी छन् । शुक्रबार काठमाडौंमा आयोजित एक पत्रकार सम्मेलनमा बोल्दै उनले राष्ट्रको सर्वोच्च पदमा पुगिसकेको व्यक्ति भएकाले अब कुनै पदप्रति आशक्ति नरहेको जिकिर गरेकी हुन् ।
आफ्नो राजनीतिक सक्रियतालाई स्वाभाविक प्रक्रियाको रूपमा लिन आग्रह गर्दै पूर्वराष्ट्रपति भण्डारीले भनिन्, ‘कुनै पदप्रति लालसा, महत्त्वकांक्षा र आशक्ति छैन । किनकी मैले राष्ट्रकै सर्वोच्च पदमा पुगेर इतिहासमा आफ्नो नाम दर्ज गरिसकेको छु ।’
उनले आफू राजनीतिबाटै राष्ट्रपति बनेको र कार्यकाल पूरा गरेपछि पुनः दलको सदस्य बनेर जनताको सेवामा समर्पित हुने निर्णय कुनै अनौठो विषय नभएको तर्क गरिन् । ‘म राष्ट्रपति निर्वाचित भएको र राष्ट्रपतिको जिम्मेवारी पूरा गरेर राजनीतिक दलमा आबद्ध बनी देश र जनताको सेवा गर्ने संकल्प गर्नु कुनै अनौठो र आश्चर्यजनक विषय होइन,’ भण्डारीले भनिन्, ‘यो मेरो संवैधानिक अधिकार मात्रै होइन, मुलुकमा राजनीति गरेर पार्टीको नेता भएर नै राष्ट्रपतिमा निर्वाचित भएको हुँ र आफ्नो बाँकी जीवन पार्टी राजनीतिमा लगाएर देश र जनताको सेवामा समर्पित हुने निर्णयमा पुगेको हुँ ।’
नेकपा (एमाले) ले उनको पार्टी सदस्यता नवीकरण नगर्ने र पार्टी राजनीतिमा रोक लगाउने निर्णय गरेपछि पूर्वराष्ट्रपति भण्डारीले यो पत्रकार सम्मेलन आयोजना गरेकी हुन् । एमालेको निर्णयपछि उनले पहिलो पटक सार्वजनिक रूपमा आफ्नो धारणा प्रस्तुत गरेकी हुन् । बबरमहलस्थित कार्की बैंक्वेटमा आयोजित पत्रकार सम्मेलनमा एमालेका केही नेताहरूको समेत उपस्थिति रहेको थियो ।








