काठमाडौँ – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकारले जनताले अनुभूति गर्ने गरी काम गर्न नसकेको बताएका छन्।बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री नेपालले अहिले सरकार कम्युनिष्ट नेताको नेतृत्वमा भए पनि देशमा सुधार देखिएको छैन भने।
उनले भने, ‘अहिले पनि सरकार कम्युनिष्ट नेताको नेतृत्वमा छ तर देशको अवस्था सुधारिएको छैन। जनतामा निराशा बढेको छ। परिणाम देखिने गरी काम हुन सकेको छैन।’ छाउपडी प्रथाको उदाहरण दिँदै उनले समाजमा पुराना कुप्रथाहरू अझै कायम रहेको उल्लेख गरे। ‘एक महिला छाउपडी प्रथाको कारणले ज्यान गुमाउनुपर्यो, तर समाजले यो प्रथा हटाउन सकेको छैन,’ उनले भने, ‘कम्युनिष्ट पार्टीहरू त्यही समाजमा छन् तर चाहना देखिँदैन।’
अध्यक्ष नेपालले देशमा कुन प्रकारको अर्थतन्त्र र आर्थिक नीति लागू गर्ने भन्नेबारे गम्भीर बहस आवश्यक रहेको बताए। उनले छुवाछुत र छाउपडी जस्ता कुप्रथाहरू अन्त्य गर्न समाजमा व्यापक जनचेतना फैलाउनुपर्नेमा जोड दिए।








