काठमाडौं – चीनको दक्षिणपश्चिम क्षेत्रमा गएको ६.६ म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा ४६ जनाको मृत्यु भएको छ । स्थानीय समय अनुसार दिउँसो एक बजे सिचुआन प्रान्तमा १० किलोमिटर गहिराइमा भूकम्प गएको थियो ।
जसका कारण त्यहाँको सञ्चारविच्छेद भएको र लगत्तै पहाडमा गएको पहिरोका कारण गम्भीर क्षति भएका विवरणहरू सार्वजनिक भएका छन् । गत साता सिचुआनको राजधानी चेङ्दुका करिब २१ लाख मानिसहरूलाई कोभिड नियमका कारण घरमै बस्न निर्देशन दिइएको थियो ।
भूकम्पको केन्द्रबिन्दु चेङ्दुबाट २२६ किलोमिटर दक्षिणपश्चिममा अवस्थित दुर्गम पहाडी क्षेत्र लुडिङ सहर रहेको चाइना अर्थक्वेक नेटवर्क सेन्टरले जनाएको छ । सरकारी टेलिभिजन संस्था सीसीटीभीका अनुसार यान सहरमा १७ जनाको मृत्यु भएको र अर्को छिमेकी प्रान्त गान्जीमा २९ जनाको मृत्यु भएको छ ।
भूकम्पमा परी अन्य १६ जना बेपत्ता र ५० जना घाइते भएका छन् । शुक्रवार मात्र कोभिड-१९ सङ्क्रमण दर रोक्ने प्रयास स्वरूप लकडाउन गर्ने चेङ्दु पछिल्लो चिनियाँ सहर हो ।
यसअघि जुन महिनामा सिचुआनमा ६.१ म्याग्निट्यूडको भूकम्प गएको थियो । सिचुआन भूकम्पको जोखिम रहेको क्षेत्र हो किनकि यो छिङहाई-तिब्बती पठारको पूर्वी सीमामा रहेको छ । पछिल्लो भूकम्पले सन् २००८ मा उत्तरपश्चिम सिचुआनको वेनचुआन काउन्टीमा गएको ८.० म्याग्निच्युडको भूकम्प सम्झायो जसमा परी ७०,००० मानिसको ज्यान गएको थियो र जसले व्यापक भौतिक विनाश गरेको थियो ।








