काठमाडौं – शीतयुद्धकालको महाशक्ति राष्ट्र सोभियत सङ्घका अन्तिम नेता मिखाइल गोर्बाचोफको ९१ वर्षको उमेरमा निधन भएको छ । उनी लामो समयदेखि गम्भीर बिरामी भएको अस्पतालले जनाएको छ ।
तत्कालीन सोभियत कम्युनिस्ट पार्टीका महासचिव गोर्बाचोफले सोभियत सङ्घलाई खुला गर्ने नीति अँगाले तर त्यसको विघटन रोक्न सकेनन् । उनी सन् १९८५ देखि सन् १९९१ सम्म नेतृत्वमा रहे । उनको खुलापनबारेको नीति ग्लास्नोस्तले त्यसअघि अकल्पनीय मानिएको सरकारलाई जनताले आलोचना गर्न अनुमति दिलायो ।
सोभियत सङ्घको आधुनिकीकरणका निम्ति भनेर ल्याइएको उक्त नीतिले यस्ता शृङ्खलाबद्ध घटनाक्रम निम्त्यायो कि त्यसले अन्तत: सोभियत सङ्घकै विघटनसम्म पुर्यायो । साथसाथै शीतयुद्धको पनि अन्त गर्न त्यसले मद्दत गर्यो । कतिपय रुसीहरूले सोभियत सङ्घको विघटनका कारण गोर्बाचोफलाई कहिल्यै माफी दिएनन् । गोर्बाचोफ ५४ वर्षको उमेरमा सोभियत कम्युनिस्ट पार्टीको महासचिव अनि सोभियत सङ्घका नेता बनेका थिए ।
त्यतिखेर शक्तिशाली पोलिटब्युरोका उनी सबभन्दा कान्छा सदस्य थिए । उनका पूर्ववर्ती कन्स्टान्टीन चेर्नेन्को एक वर्ष अगाडि ७३ वर्षको उमेरमा बितेका थिए । अन्तर्राष्ट्रिय मञ्चमा गोर्बाचोफले अमेरिकासँग अस्त्र नियन्त्रणका सहमतिहरू गरेका थिए भने पूर्वी युरोपेली देशका जनता त्यहाँका कम्युनिस्ट शासकविरुद्ध उत्रँदा उनले हस्तक्षेप गर्न अस्वीकार गरेका थिए ।
पश्चिमा जगतमा उनलाई सुधारका प्रणेता मानिन्छ जसले सन् १९९१ मा शीतयुद्ध अन्त्य गर्ने शर्त निर्माण गर्यो । सन् १९९० मा उनलाई पूर्व-पश्चिम सम्बन्धमा ठूलो फेरबदल ल्याउन भूमिका खेलेकोमा नोबेल शान्ति पुरस्कार दिइएको थियो । तर सन् १९९१ पछि उदाएको नयाँ रुसमा भने उनी राजनीतिको किनारामा पुगे ।
त्यसपछि उनको ध्यान शिक्षा तथा मानवीय कार्यहरूमा गयो । सन् १९९६ मा उनले एकपटक फेरि राजनीतिक जीवनमा फर्कने विफल प्रयास गरेका थिए । त्यतिखेरको राष्ट्रपति निर्वाचनमा उनले केवल ०.५% मत मात्र प्राप्त गरे ।








