Deneme Bonusu Veren Siteler
सोमवार, असार १, २०८३
Monday, June 15, 2026

सप्तरी – सप्तरीकी एक बालिका बुबाआमाबाटै घरबाट निकालिएकी छन् ।

छिमेकका एक किशोरसँग प्रेम गरेको आरोपमा खड्ग नगरपालिका १० डङ्गराहीकी १४ वर्षीया बालिका घरबाट निकालिएकी हुन् । घरबाट निकालिएकी बालिकालाई उनका बुबाआमा र आफन्तले गत साउन २९ गते उनीसँग मिल्ने केटा साथीको घरमा लगेर जबरजस्ती राखेका छन् ।

एउटै विद्यालयमा पढ्ने १७ वर्षीय एक किशोरसँग हिमचिम बढेको देखेपछि एकापसमा प्रेम गरेको आरोप लगाउँदै बुबाआमा र आफन्तले साथीको घरमा लगेर राखिदिएको बालिकाले बताइन् । बालिकाले भनिन्, ‘एउटै टोलमा घर भएकोले इनर्वा फूलबडियास्थित महेन्द्र माविमा पढ्न जाँदा र घर फर्किंदा सँगै जाने–आउने र बोलचाल गरेकै आधारमा प्रेम गरेको आरोप लगाएर बुबाआमाले जबरजस्ती उनको जिम्मा लगाउन खोजेर घरनिकाला गरी साथीको घरमा राखेर हिँडे । ’

ट्याक्टर चलाएर जीविकोपार्जन गरिरहेका बालिकाका बुबाले एक वर्षअघि कान्छी श्रीमती भित्र्याएपछि घरको सबै कामधन्दा सकेर स्कुल भ्याउँदा पनि माया नपाएको उनले बताइन् । उनका अनुसार आफूहरूको विवाह गर्ने उमेर नै भएको छैन तर सँगै विद्यालय जाने–आउने गरेकै बहानामा बुबाले जिम्मा लगाउन खोजेका हुन् ।

‘जेठीपट्टि आफूसहित चार छोरी मात्र भएकोले मलाई जबरजस्ती अर्काको टाँसो लगाउन खोज्नु भएको रहेछ’ उनले थपिन् । ‘आफूलाई जन्मदिने बुबाआमाले छोरीमाथि विश्वास नगरी इच्छाबिपरीत अर्काको घरमा छाडेर जान्छन् भन्ने मैले कल्पनासमेत गरेकी थिइनँ । ’

करिब दुई महिनादेखि इच्छाविपरीत विस्थापित बालिकाको पढाइ छुटेको छ भने परिवारका साथ बस्न पाउने मौलिक हकबाटसमेत वञ्चित भएकी छिन् । मानसिक रूपले विक्षिप्त बन्दै गएकी बालिकाको इच्च्छाविपरीत उमेर नपुगी बालविवाह गर्न नपाइने भनेर स्थानीय बाल क्लब र समाजका भद्र भलाद्मीले सम्झाए पनि बालिकाका बुबाआमाले घर लैजान अस्वीकार गरेपछि बालिका घरको न घाटको भएकी छिन् ।

विवाह गर्न दबाब दिँदै बालिकालाई घरमा छाडेर हिँडेपछि आफ्नो छोरासमेत घर छाडेर बेपत्ता भएको किशोरको आमाले बताइन् । आवश्यक कारबाहीका लागि बालिका र किशोरका आमाले भदौ १ गते नै इलाका प्रहरी कार्यालय र खड्ग नगरपालिकाको न्यायिक समितिमा छुटछुट्टै निवेदन समेत दिएका छन् ।

नाबालकको हैसियतले परिवारको साथमा बस्न पाउने, जिउन, पढ्न र लेख्न पाउने नैसर्गिक र मौलिक अधिकार खोसिएको भन्दै बालिका स्वयंले घरपरिवारका साथमा बसेर पालनपोषण, शिक्षा दिलाई पाउँ भनी निवेदन दिएकी छिन् ।

निवेदनमाथि छलफल भए पनि सम्बन्धित निकायले आवश्यक पहल र निर्णय नगर्दा बालिका घर फर्किन पाएकी छैनन् ।  भविष्यमा के होला भनेर सोच्न नसकेकी बालिकाले आफ्नै बुबाआमा बैरी बनेकोमा आश्चर्य व्यक्त गरिन् । प्रहरी र न्यायिक समिति एकले अर्कोलाई जिम्मेवारी पन्छाउँदै कुनै निर्णय नगर्दा बालिकाको जीवन सङ्कटमा परेको स्थानीय जयप्रकाश चौधरीले बताउनुभयो ।

इलाका प्रहरी कार्यालय र न्यायिक समिति लामो समयसम्म निर्णयविहीन भएपछि स्थानीय समाजसेवी र लैङ्गिक हिंसा नियन्त्रण सञ्जालका पदाधिकारीसहित राजविराज आएकी बालिकाले जिल्ला प्रहरी कार्यालयका प्रमुख राजेन्द्र विष्ट र प्रवक्ता भावेश रिमालसँग भेटेर न्यायका लागि गुहार मागेकी छिन् ।

प्रहरीले पहल गर्ने भनेर एसपी विष्टको आश्वासन लिएर गाउँ फर्केकी बालिकाले जाँदाजाँदै प्रश्न गरिन्, कहिलेसम्म छोरीहरूले नै घरनिकाला र विस्थापित भइरहनुपर्छ र आफ्नै घरमा बस्न हात फैलाइरहनुपर्छ ?’

तपाईको प्रतिक्रिया