काठमाडौं – सरकारले धानको न्यूनतम समर्थन मूल्य तोक्ने तयारी गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सोमबार बसेको बैठकले धानको समर्थन मूल्य तोक्ने सम्बन्धमा अध्ययन गरी प्रतिवेदन बुझाउन एक समिति गठन गर्ने निर्णय गरेको आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालले जानकारी दिनुभयो ।
धानको उत्पादन, बजार व्यवस्था, प्रचलित मूल्य लगायतको विश्लेषण गरी प्रतिवेदन पेस गर्न उक्त समितिलाई एक साताको समय दिइएको छ । समर्थन मूल्य तोक्न गरिएको यो निर्णय आगामी मंसिरमा उत्पादन हुने धानका लागि भएको मन्त्रालयले जनाएको छ । सरकारले चालू आर्थिक वर्षमा निकै ढिला गरी धानको न्यून समर्थन मूल्य तोकेको थियो । आगामी आर्थिक वर्षका लागि भने समयमै तोक्ने तयारी गरिएको छ ।
किसानले उत्पादन गरेको धानको लागत अनुसारको मूल्यको सुनिश्चितता गर्न यस्तो समर्थन मूल्य तोक्ने अभ्यास छ । न्यूनतम समर्थन मूल्य तोक्ने विषयमा अध्ययन गरी प्रतिवेदन बुझाउन कृषि मन्त्रालयका सहसचिव लेखनाथ आचार्यको संयोजकत्वमा अर्थ मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रतिनिधि सहभागी समिति गठन गरिएको हो । उक्त समितिले गहुँ र उखुको न्यूनतम समर्थन मूल्य पनि तोक्ने सहसचिव ढकालले बताउनुभयो ।








