राजविराज – माइतमा बोलाएर पतिको हत्या गरेको आरोपमा पक्राउ परेकी सप्तरीको राजविराज नगरपालिका ९ मलेठकी २३ वर्षीया अञ्जना साह र उनका बाबु रामदयालविरुद्ध प्रहरीले कर्तब्य ज्यान मुद्दा दर्ता गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले अाज पत्रकार सम्मेलन गरी दुवैलाई सार्वजनिक गर्दै मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको बताएको छ । गत बिहीबार मलेठस्थित ससुराली आएका बेला हनुमाननगर कंकालिनी नगरपालिका १ त्रिकौल निवासी २८ वर्षीय दिपेन्द्र मण्डलको हत्या भएको थियो । प्रहरीले सोही दिन अन्जना र ५५ वर्षीय बाबु रामदयाललाई पक्राउ गरेको थियो । अञ्जना मृतक दिपेन्द्रकी कान्छी श्रीमती हुन् ।
अन्जना र रामदयालले अत्यधिक मदिरा सेवन गरी आएका दिपेन्द्रले दुर्व्यवहार गर्न थालेपछि आवेशमा आई सामान्य कुटपिट गरेको प्रहरीमा बयान दिएका छन् । प्रहरीले भने सम्वेदनशील अंगमा गहिरो चोट लागेका कारण दिपेन्द्रको मृत्यु भएको जनाएको छ । सप्तरी प्रहरीका डिएसपी भावेश रिमालले भने, ‘पोस्टमार्टम रिपोर्ट अनुसार संवेदनशील अंग तथा शरीरका विभिन्न भागमा गरिरो चोट लागेका कारण दिपेन्द्रको मृत्यु भएको हो ।’








