काठमाडौं – विपी राजमार्गमा ठूला सवारी साधन चलाउन दिने सरकारको निर्णय सर्वोच्च अदालतले रोकिदिएको छ । सर्वोच्चले अन्तरिम आदेश दिंदै ठूला सवारी साधनलाई सञ्चालन गर्न रोक लगाएको हो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जेठ १३ गते विपी राजमार्गमा ३२ सिट क्षमताका गाडी र १६ टन वजन भएका मालवाहक सवारी चलाउने इजाजत (रुट परमिट) दिएको थियो । मन्त्रालयले १६ टनसम्मका मालवाहक सवारीलाई राति ९ बजे देखि बिहान ५ बजेसम्म चलाउन दिने भएको थियो । त्यस विरुद्ध अधिवक्ता कैलाश दाहालले आइतबार सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो ।
रिटमाथि सुनुवाई गर्दै न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले रिटको टुंगो नलागेसम्म ठूला सवारी साधनलाई विपि राजमार्गमा सञ्चालन गर्न नदिनु नदिलाउनु भनि अन्तरिम आदेश जारी गरेको हो । यसअघि गरिएका दुइवटा अध्ययनले १६ देखि १८ सिटका सवारी साधन र १० टनभन्दा कममात्र वजन भएका मालबहाक गाडी यो रुटमा चल्न सक्ने भनेका थिए ।








