काठमाडौं – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले जेठ महिनाभित्रै सबै तहमा कर्मचारीको उचित व्यवस्थापन गर्ने महत्वकांक्षी योजना अघि सार्नु भएको छ । मन्त्री पण्डितले सरकारले संघीयताको व्यवस्थापनका लागि असार महिनाभित्र प्रशासनिक संक्रमणकाल अन्त्य गर्ने लक्ष्यका साथ काम गरिरहेको दाबी समेत गर्नुभयो ।
आज काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री पण्डितले स्थानीय, प्रदेश र केन्द्रमा कर्मचारीको उचित व्यवस्थापनका लागि सरकारले ९० प्रतिशत काम सम्पन्न गरिसकेको पनि जानकारी दिनुभयो । मन्त्री पण्डितले सरकारबारे नकारात्मक टिप्पणी नगर्न पनि चेतावनी दिनुभयो । संघीयताको व्यवस्थापनका लागि काम गरिरहँदा पनि सरकारलाई संघीयता विरोधीको आरोप लगाएकोमा मन्त्री पण्डितको आपत्ति छ ।
कार्यक्रममा बोल्दै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता सञ्जय गौतमले सरकारको सय दिन आशालाग्दो नभएको टिप्पणी गर्नुभयो । उहाँले सरकारको नीति तथा कार्यक्रमले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत विकास गर्न समेत आवश्यक कार्यक्रम तय गर्न नसकेको भन्दै असन्तुष्टि पनि व्यक्त गर्नुभयो ।








