अमेरिका – अमेरिकाले इरानमाथि नयाँ प्रतिबन्ध लगाएको छ । इरानले गरेको पछिल्लो मिसाइल परीक्षणपछि राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले नयाँ प्रतिबन्ध लगाएको हो ।

अमेरिकाले इरानका १३ उच्च अधिकारी तथा १२ वटा कम्पनीमाथि प्रतिबन्ध लगाएको हो । राष्ट्रपति ट्रम्पले ट्वीट गर्दै इरान आगोसँग खेलिरहेको बताउनुभयो । उहाँले पूर्व राष्ट्रपति इरानप्रति लचक रहेपनि आफू त्यस्तो नरहेको भन्दै इरानलाई चेतावनी दिनुभएको छ ।

इरानले बिद्रोहीलाई साथ दिएको राष्ट्रपति ट्रम्पको आरोप छ । इरानको ब्यालेस्टिक मिसाइल परीक्षण तथा निर्माण विश्व सुरक्षा तथा अमेरिकाका सहयोगीका लागि खतरा रहेको अमेरिकी वित्त मन्त्रालयको भनाई छ ।

इरानको पछिल्लो कदमले ओबामा प्रशासनले इरानसँग गरेको परमाणु सन्धि देशको हितमा नरहेको प्रष्ट भएको ह्वाइट हाउसका प्रवक्ता सिन स्पाइसरले दाबी गर्नुभएको छ । इरानले ग्एको बुधबार ब्यालेस्टिक मिसाइल परीक्षण गरेको थियो ।
इरानले आफूले गरेको पछिल्लो मिसाइल परीक्षणले संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको परमाणु नियम तथा सन् २०१५ मा भएको सम्झौताको उल्लंघन नगरेको दाबी गरेको छ । सन् २०१५ मा अमेरिकासँग परमाणु सम्झौता भएपछि पनि इरानले धेरै पटक मिसाइल परीक्षण गरेको छ ।
तर पछिल्लो परीक्षण ट्रम्पले सत्ता सम्हालेपछिको पहिलो परीक्षण हो । राष्ट्रपति ट्रम्पले इरानसहित सात मुस्लिम बाहुल्य देशका नागरिक तथा आप्रबासीलाई अमेरिका प्रवेशमा रोक लगाएपछि इरानले परमाणु परीक्षण गरेको हो ।








