काठमाडौं – भारतीय संसदको संयुक्त अधिवेशन चलिरहेकै समयमा अचानक बेहोस भएर ढलेका एक सांसदको निधन भएको छ ।
भारतको पूर्व विदेशराज्यमन्त्री समेत रहनुभएका सांसद ई अहमदको दिल्लीस्थित राम मनोहर लोहिया अस्पतालमा बुधबार बिहानै निधन भएको हो । ७८ वर्षीय ई अहमद केलरको मल्लापुरम सीटबाट लोकसभा सदस्य निर्वाचित हुनुभएको थियो । 
मंगलबार संसदको संयुक्त बैठकलाई भारतीय राष्ट्रपति प्रणव मुखर्जीले सम्बोधन गरिरहँदा सांसद ई अहमद आफ्नै सीटमा अचानक बेहोस हुनुभएको थियो । संसद परिसरमै प्राथमिक उपचारपछि उनलाई उपचारका लागि राम मनोहर लोहिया अस्पताल लगिएको थियो ।ई अहमद इन्डियन मुस्लिम लिगका राष्ट्रिय अध्यक्ष हुनुहुन्थ्यो ।
मनमोहन सिंह नेतृत्वको युपिए सरकारमा उहाँ विदेश राज्यमन्त्री समेत हुनुभएको थियो । उहाँले रेल राज्यमन्त्रीको जिम्मेवारीसमेत सम्हालिसक्नु भएको छ ।








