युएई – अन्तर्राष्ट्रिय रुपमा मनाईदै आएको प्रणय दिवस युएईमा बस्ने नेपालीहरुका लागि यो वर्ष बिशेष हुने भएको छ । चौध फेब्रुअरीमा मनाईने यो दिवसका अवसरमा युएईमा चर्चित कलाकारको सहभागितामा बिशेष कार्यक्रम गर्ने तयारी भएको छ ।
नेपालमा लाईभ कन्सर्ट लगायतका ईभेन्ट म्यानेजमेन्टको काम गर्दै आएको ग्रीष्मा ईन्टरटेन्मेन्ट र युएईमा क्रियाशिल क्रिएटिभ युथ नेपालको सहकार्यमा हुने लागेको कार्यक्रममा नेपालका चल्तिका गायक प्रमोद खरेल, गायिका आस्था वि, हास्य कलाकार जितु नेपाल र नायिका प्रियंका कार्कीको सहभागिता रहने आयोजकले जानकारी दिएका छन् ।
रेडियो तथा टेलिभिजन कार्यक्रम संचालक नरेश भटटराईले संचालन गर्ने कार्यक्रममा स्ट्याण्ड अप कमेडियन रमेश क्षितिज, गायिका तथा गीतकार सम्बृद्धि राई लगायतका कलाकारको पनि प्रस्तुती रहने भएको छ । म विना कसै कसैलाई बोलको गीत गाएर चर्चामा आएका प्रमोद खरेलका सय भन्दा बढि गीत युवाहरुमाझ लोकप्रिय छन् । आस्था बि मलाई पुगेन पुगेन यो बैंसले गितबाट चिनिएकी गायिका हुन् । नेपाली टेलिभिजन कार्यक्रममा मुन्द्रे पात्रका रुपमा देखिएका जितु नेपाललाई दर्शकले मुन्द्रकै रुपमा चिन्छन् ।
फेब्रुअरी १२ तारिखमा दुवईको देरामा रहेको आसियाना होटलमा हुने कार्यक्रमका लागि स्थानीय प्रसासन, होटल ब्यवस्थापनसंगको सहमति पछि तयारीलाई तिब्र पारिएको आयोजक मध्येका एक रमेश क्षितिजले जानकारी दिए । होटलको बाराके क्लबमा साँझ ४ बजेबाट शुरु हुने कार्यक्रमको मोहम्मद समिम र मदन अधिकारीले संयोजन गर्दैछन् ।
क्रियटिभ युथ नेपालले यस अघि चर्चित गायक शिव परियार, ज्योति मगर लगायतका कलाकार ल्याएर कार्यक्रम सम्पन्न गरिसकेको छ । ***








