Deneme Bonusu Veren Siteler
सोमवार, जेष्ठ २५, २०८३
Monday, June 8, 2026

नेपाली वर्णमालामा एउटा अक्षर हुन्छ ‘म’ । उमेरले नेटो काट्यो भनिरहेको बेलामा पनि कहिलेकाँही वाल्यकालको पुरानो याद तपाईलाई पनि आउँछ नै होला । किताबमै झर्ला-झर्ला जस्तो गरी नाकबाट बगेको सिंगान स्वाँट्ट माथि तान्दै घोप्टो परेर शिशाकलमले किरमिरे लाईन तानेर सिकेको कखरा विर्सने भन्ने त कुरै हुँदैन, होइन र ? अहिले जो जहाँ र जस्तो अवस्थामा भए पनि कपडा भरी धुलो, राघेपाटे अनुुहार अनि नाकभरीको सिंगान एक हातले पुछ्दै अर्को हातले कखरा लेख्दा भोगेका सास्तीका कथाहरु त कतै न कतै मनको तखतामा चाङ्ग नै होला । फरक यत्ति हो कसैले ति अनुुभूतिका चाङ्गहरु तखताबाट निकाल्दै निकाल्दैनन् त कतिले बेलाबेलामा निकालेर धोइपखाली गरी टलक्क टल्काउलान् । हाम्रा पालामा, नेपाली अक्षर सिकाइँदा गुुरुले कपुरी ‘क’, भित्र बाटुलो ‘ख’, गाईगोडे ‘ग’… भनेर चर्को स्वरले भन्नुहुुन्थ्यो अनि हामी पछिपछि लय मिलाएर फलाक्थ्यौं । ‘म’ को लागि हुन्थ्यो, राम्रो ‘म’ । चरी चुच्चे ‘च’, छाते ‘छ’, डाडु ‘ज’, खुट्टा झरे ‘झ’, गोरु सिंगे ‘ञ’ । अक्षर, बनोट र अर्थको बारेमा न त गुरुले नै व्याख्या गर्नु भो न त आफ्नो आलोकाँचो दिमागले नै सोच्न सक्यो । अहिले आएर यसो घोत्लिँदा प्रायः सबै अक्षरहरुको अर्थ र बनोट पनि लगभग मिल्दोजुल्दो अनुमान लगाउँछुु म । त्यसमा पनि अरु भन्दा भिन्न अक्षर ‘म’ को अर्थ घुमाउरो तरिकाले राखिएको भान हुन्छ मलाई – राम्रो ‘म’ ।

हुन पनि म राम्रो छु, तिमी भन्दा राम्रो छु, उ भन्दा राम्रो छुु अनि सबैभन्दा बढी राम्रो छु -राम्रो ‘म’ । कसले, कहिले र किन बनायो यो राम्रो ‘म’ त्यता तिर नजाऊँ । तर जे भए पनि मानिसको प्रवृत्तिसँग कस्तो मज्जाले ठ्याक्र्याक्कै मेल खाने गरेर बनाएका छन्-राम्रो ‘म’ । स्वभाविक पनि हो हामी सबैलाई म नै राम्रो लाग्छ, त्यसैले त राम्रो ‘म’ । म राम्रो, मैले गरेको राम्रो । अनि अलि दायरा फराकिलो बनाउने हो भने मेरा राम्रा, मेराले गरेका राम्रा अनि मेराका मेराहरु पनि राम्रा ।

सानो छँदाका कुरा गर्ने हो भने, मेरा बाबाआमा, घर, खेतवारी, स्कुल, गाउँ सबै राम्रा । अलि ठूला भएपछि मेरा गाउँका मान्छेहरु राम्रा, तन्नेरीहरु राम्रा, तरुनीहरु झनै राम्रा, मेरा गाउँका रुखहरु राम्रा, पर्खालहरु राम्रा, खेतहरु राम्रा अनि मेरा गाउँका गाईभैंसी, किरा फट्याङ्ग्रा, ढुंगामाटो सबै राम्रा । क्याम्पस गएपछि मेरो क्याम्पस राम्रो, मेरो क्याम्पसका केटीहरु राम्रा, क्याम्पसका लेक्चरहरु राम्रा । अलिअलि राजनीतिको नशा चढ्न थालेपछि मेरो पार्टी राम्रो, राम्रा नेताका ढुुंगामुढा गर्ने कार्यकर्ता राम्रा, घुुस खाए पनि भुुस खाएपनि मेरा नेता राम्रा अनि मेरा नेताका आफन्तहरु पनि राम्रा । सानैदेखि राम्रो ‘म’ पढेको हुनाले म राम्रो भएको भए भगवान जानूून् तर खै किन हो कुुन्नी मेरा लागि म र मेरा औधी राम्रा ।
तपाई कुनै समूहमा फोटो खिचाउनुहोस् । सबै राम्रै हुनुहुन्छ तर सबैभन्दा बढी तपाईलाई म नै राम्रो लाग्छ । पुरुष मित्रहरुलाई आफ्नै दाह्री राम्रो, महिलाहरुलाई आफ्नै साडी राम्रो । अरुको वाल मतलव तपाई पुरुषहरु आफ्नै दाह्री हेर्नुहुन्छ अनि महिला मित्रहरु साडी । शरीर, अनुहार, नाकमुख जे हेर्नुस् तपाईलाई तपाइकै राम्रो । तपाई जो सुकैलाई तपाई म नै राम्रो, त्यसैले त वर्णमालाको अक्षर पनि राम्रो ‘म’ ।

अघिल्लो हप्ता एकजना कुक दाइसँग कुरा गर्ने अवसर मिल्यो । विदाको दिन काम हुँदैन, घर नजिकैको एउटा रेष्टुरेन्टमा गयो, दुई गिलास पानी खायो अनि ताई न तुईको गफ लडायो । जापानमा बसेर नेपालको विकास, प्रगति र उन्नतिको योजना कोर्छाैं हामी मज्जैले । आफ्नाले जे सुकै गरुँन तर देश विगारे अरुले । यो गर्नुपर्थ्यो, उ गर्नुपर्थ्यो यस्तै यस्तै अरू थुप्रै…।
करिव आधा घण्टाको भलाकुसारीमा कुक दाइले आफू राम्रो भएको सप्रमाणसहित साहुले रेष्टुरेन्ट बिगारेको कुरा दर्शाए । मैले बरफ हालेको पानी हल्लाएर घुट्क्याउँदै एक धार्नीको टाउको हल्लाएँ । कुक दाइ भन्छन्-‘साहुलाई रेष्टुरेन्टको बारेमा केही थाहा छैन, हामीले भनेको मान्दैनन्, रेष्टुरेन्ट पिटाउनु पिटाए ।’ ३ बजेदेखि ५ बजेको ब्रेकमा आराम गर्न कुुक दाइ नजिकै रहेको कोठातिर रबाना हुनुुभो । त्यसपछि साहुजीको पालो । उनी पनि के कम ? कुकहरुले गर्दा रेष्टुरेन्ट खत्तम बनाएको बेलीविस्तार सुनाए । उनी भन्छन्-‘कुकहरु ठूला पल्टिए, यो गर भन्दा त्यो गर्छन्, आफै साहुुजस्तो गर्छन्, मलाई टेर्दैटेर्दैनन् । जतिखेर पनि हातमा आइफोन, ताल परे दिउँसै रक्सी खाइदिने, हैरान बनाए । अझ यो फेसबुकले त मलाई डुबाउनु डुुबाए, जतिबेला पनि फोन छाड्दैनन् के गर्ने ?’ दुवैको कुरा नराम्रा भने होइनन् तर कुन राम्रा कुन नराम्रा भेउ पाउन नसके पनि दुवैलाई सकेको सल्लाह दिन सक्ने राम्रो ‘म’ ।

स्कुले विद्यार्थीको कुरा सुनौं, आफूले मेहनत गरेर नपढेकोले आफू फेल भएको होइन रे । माठर सा’पले राम्रो पढाएनन् रे । रातभरी काम गर्ने अनि क्लासमा गएर फ्वाँ-फ्वाँ सुत्ने आफू राम्रो, सुुतुवा विद्यार्थीलाई राम्रोसँग पढाउन नसक्ने माठरसा’प कस्तो नराम्रो । खबरै नगरी काममा बिदा बस्ने, काममा ढिला जाने आफू राम्रो, एक दिन बिदा बस्दा, एकै छिन ढिला हुँदा पनि के-के नै भए झैं गाली गर्ने कम्पनीका मालिक कस्तो नराम्रो ?
पंक्तिकारले यो सबै भएकै राम्रो ‘म’ ले गर्दा हो कि भन्ने अधकल्चो निर्णय निकाल्यो । राम्रो ‘म’लाई परिवर्तन गरेर राम्रो ‘तँ’ बनाउन पनि नमिल्ने, अहिलेसम्म सबैले भन्दै आएको राम्रो ‘म’ लाई नराम्रो ‘म’ भन्न पनि नमिल्ने । आफू जतिसुकै बिग्रिए पनि, जतिसुकै नराम्रो भए पनि भन्नैपर्ने कस्तो यो राम्रो ‘म’ । राम्रो ‘म’ को जय होस् । जाँदाजाँदै फेरि एक पटक राम्रो ‘म’ जिन्दावाद । अस्तु ।

तपाईको प्रतिक्रिया