Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ २४, २०८३
Sunday, June 7, 2026

”आफ्नो घरमा पहाडजत्रो समस्यालाई थाँती राखेर समाज परिवर्तन गर्छु भन्नुमा कुनै तुक छैन”
यतिवेला जापानको गर्मीको तातोसँगै एनआरएन जापानको चुनावी गतिविधीले जापानमा रहेका नेपालीहरुलाई अझै बढी तताईरहेको छ । अा-अाफ्नो घोषणा पत्रका साथ उम्मेदवारी घोषणा गर्ने क्रम जारी छ । तर समग्रमा सबैको चुनावी नारा भने प्रायः उस्ताउस्तै देखिन्छ ।
सबैले म जापान आएको यति-उति भयो, मेरो जापानमा व्यवसाय छ, यो संस्थामा आवद्ध छु, अब यो गर्छु  त्यो गर्छु भन्ने  नाराहरु छन् । अवश्य पनि रहरले  या त करले गर्दा आफ्नो कर्मभूमि जहाँ जसरी भए पनि सबै भन्दा प्यारो त आफ्नै जन्मभूमि हुन्छ । आफ्नो जन्मभूमिको लागि गर्नु तपाई हाम्रो कर्तव्य नै हो । प्रत्यक्ष र अप्रत्यक्ष सबैले आफू सक्दो सहयोग गरिराखेकै हुन्छन् फरक यति मात्रै हो, कोही मिडियामा आउन चाहन्छन् त कोही चाहँदैनन् । पदमा रहेर मात्रै समाज सेवा गर्न सकिन्छ भन्ने होइन तर पदमा बसेर काम गर्दा अलि देखिन्छ भन्ने कुरा मात्रै हो ।
एउटा नेपाली उखान छ ”गर्ने भन्दा गराउने सिपालु” । त्यसैले पदमा बसेर मात्रै गर्न सकिन्छ भन्ने होइन बाहिर बसेर पनि उत्तिकै समाजको लागि योगदान दिन सकिन्छ । पदमा बसेर गर्नु मात्रै होइन पद बाहिर बसेर पनि गराउन सकिन्छ । तपाई हामी नेपालीहरुसँग जाँगर नभएको अवश्य पनि होइन । जस्तैः अरबको खाडी मुलुक उदाहरणको रूपमा हेर्न सक्नुहुनेछ । तपाई हामी नेपाली दाजुभाईकै पसिना र मेहनतले त्यति ठूलो विकास हुन सम्भव भएको हो  । आखिर नेपालीले गर्न नसक्ने त होइन रहेछ नि । यसैले काम गर्नको लागि व्यक्तिगत क्षमता भन्दा पनि वातावरण राम्रो हुनुपर्छ  । सबैको सुझाव, सल्लाह र गराउने मान्छे राम्रो भयो भने जो कोहिले पनि काम गर्न सक्छ । त्यसैले नेतृत्व जसले लिए पनि उसलाई काम गराउने वातावरण नै सबैभन्दा ठूलो कुरो हो । त्यसैले हाम्रो समाजमा काम गर्ने भन्दा गराउनेको अभाव देखिन्छ ।
यस किसिमका समस्याहरु त थुप्रै छन् तर पनि त्यो भन्दा पहिले एनआरएन जापानका अग्रजहरुले सर्वप्रथम त जापानमा भएका नेपालीहरुको समस्यालाई नै मुख्य स्थान दिनुपर्‍यो । मैले देेखेका केही समस्याहरुलाई बुँदागत टिप्पणी गर्न चाहन्छु ।

(क) कुकको समस्याः
यहाँहरु सबैलाई अवगत भएको कुरा हो जापानमा सबैभन्दा विकराल समस्या भनेकै कुकको समस्या हो । जो जापान आउनको लागि १२/१४ लाख खर्च गरेर आउँछन् तव जापान आएको भोलिपल्ट देखि नै उसलाई साहुको चर्को व्याजको ऋणको चिन्ता र कामको चिन्ताले सताइराखेको हुन्छ । पहिलो कुरा काम पाउन गाह्रो दोस्रो कुरा वल्लतल्ल काम पाएपनि थोरै तलवमा लामो समय काम गर्नुपर्ने वाध्यता । यी कारणले गर्दा ऊ पूर्णरूपमा  मानसिक र शारीरिक हिसावले थकित हुन्छ अनि मनमा असन्तुष्टि पैदा हुन्छ ।
अर्को समस्या वल्ल वल्ल आफू सेटल भयो आफ्नो परिवारलाई जापान झिकाउनुपर्दा र भिसा थप्दा पनि साहुलाई पैसा बुझाउनु पर्छ भन्ने कुरा पनि यदाकदा नसुनिएको होइन । आफ्नै स्टाफले कम्पनीको एउटा छापको लागि पनि लाखौ रुपियाँ खर्चिनु पर्ने वाध्यता छ । तिनै कुकहरु आर्थिक रुपमा र शारीरिक रुपमा पनि शोषणमा परेका छन् । तर स्टाफको मेहनत र पसिनाले आज आफू त्यो ठाउँमा पुगेको कुरा  साहुले अझै बुझेका छैनन् । तरपनि साहु भने हृवीस्कीको चुस्कीमा रमाउँछ, देश विदेश शयर गर्छ, मिल्यो भने महिनामा १ पटक नेपाल जान्छ, यो गरें र त्यो गरें भनेर फुर्ति  लगाउँछ । सामाजिक सञ्जालका वालहरु सामाजिक काम गरेको फोटोले भराउँछ । तर उसकोमा काम गर्ने स्टाफहरु भने सँधै पीडा र असन्तोषमा छटपटी राखेको हुन्छ । त्यसैले सबैभन्दा पहिला आफ्नै घरको समस्यालाई समाधान गर्नु अनि मात्रै समाजमा केही गर्छु भनेर  लागि पर्नु, आफ्नो घरमा पहाडजत्रो समस्यालाई थाँती राखेर समाज परिवर्तन गर्छु भन्नुमा कुनै तुक छैन ।

(ख) विद्यार्थीको समस्याः
विद्यार्थी समस्या पनि यस्तै विकराल छ । नेपालबाट आउँदादेखि नै पढाईतिर भन्दा कमाईतिरको मनस्थिति बनाएर आएको हुन्छ । जब जापान आइपुग्छ तबमात्र उसको आँखा खुल्छ । भाषाको समस्याले काम पाउन गाह्रो वल्लतल्ल कमाएको पैसाले विद्यालय शुल्क तिर्न नै ठिक्क । रातभरीको कामको थकाइले लखतरान तर पनि दिउँसो स्कुल जानै पर्ने वाध्यता, स्कुल गएन भने भिसा पाउन गाह्रो उता नेपालबाट ऋण निकालेर आएको पैसाको साम र व्याजले मानसिक तनाव उत्तिकै ।  यस्तै कारणले गर्दा जापानमा नेपालीहरुले आत्महत्याको बाटो रोजेको घटना पनि हाम्रो सामु ताजै छ  । यसलाई पनि जतिसक्दो चाँडो समस्याको समाधानतिर ध्यान दिनु जरुरी देखिन्छ । देखिएका समस्याहरूको समाधान मात्र नभइ समस्या पैदा गर्ने र गराउने कारणको पहिचान गरी दीर्घकालीन उपचारको बाटो खोज्नुपर्ने देखिन्छ ।

(ग) म्यानरको समस्याः
नेपालमा जुनसुकै तहको व्यक्ति होस् उसले पनि आफ्नो देश छाडेर गएपछि कुन देशमा गयो उही देश अनुसारको भेषमा रमाउन, सिक्न जान्नुपर्दछ । तबमात्र उसलाइ त्यो देशमा जीवन यापन गर्न सजिलो हुन्छ । मैले देखे अनुसार भन्ने हो भने धेरैजसो नेपालीहरू अाफ्नो जापान बसाइ जतिसुकै लामो भए पनि जति नै मै हुँ भनेर घमण्ड गरे पनि उसले नेपाली पारा छोड्न सकेको हुँदैन । जापानको याथार्थता पनि बुझ्न सकेको हुँदैन । अाफ्नो म्यानर पनि सुधार्न सकेका छैनन् । जबकी जापानमा सबैले अाफ्नो फोन म्यानर मोडमा राखेको हुन्छ । कसैको मोवाइलको अावाजले अरू कसैलाइ पनि डिस्टर्व नहोस भन्ने चाहन्छन् । तर नेपालीहरू भने मोवाइलको फुल साउण्डमा राखेर ट्रेन अर्थात बसहरूमा चर्कीचर्की कुरा गरिराखेको हुन्छ । अर्को कुरा जापानमा बाटोमा थुक्नु र खकार फाल्नु भनेको एकदमै लाजमर्दो कुरा हो । तर मुखभरी खैनी सूर्ति राखेर बाटो भरी थुक्दै हिंडेको पनि देखेको छु । अोकुवो, सिनअोकुवो जहाँ नेपालीहरूको धेरै चहलपहल हुन्छ त्यो ठाउँमा भएका  नेपाली रेष्टुरेन्टतिर जाने हो भने दिउँदैदेखि नशामा लठ्ठिएर मुखमा जे आयो त्यही बोल्ने नेपालीहरु पनि निकै भेटिन्छन् जवकी आफ्नो दिदीवहिनीहरुसँगै खाना खान जान पनि लाजै लागेर आउँछ । बाटो भरी जम्मा भई गफ गरेर बस्ने अनि विचरा जापानीहरुलाई त्यो बाटो बाट नै तर्केर हिड्नुपर्ने अवस्था पनि हुन्छ । कुनै कार्यक्रम भयो कि नेपाली नेपाली बीच हानाहान भएको घटनाहरु थुप्रै छन् ।

त्यसैले एनआरएन जापानका अग्रजहरुलाई के अनुरोध गर्न चाहन्छु भने पहिले जापानमा भएका नेपालीहरुको समस्या समाधान गर्नेतिर पनि लाग्नुहोस् । नेपालीहरुलाई देश अनुसारको भेषमा चल्न सिकाउनुहोस् । राम्रो गर्न नसके पनि नराम्रो नगर्नुहोस् । म्यानर सिकाउनुहोस् । राम्रो नेपालीको परिचय दिलाउनुहोस् । आफूसक्दो नेपाललाई सहयोग गनुहोस् तव मात्रै तपाईको सही कामको मूल्यांकन हुनेछ । मूल्यांकन अरुले गर्ने कुरा हो आफ्नो मूल्यांकन आफैले गर्ने घमण्ड छाड्नुहोस् । राम्रो काम गर्नेलाई साथ दिनुहोस् तब मात्रै तपाईलाई सबैले मान्नेछन् । जय जय गर्नेछन् । आर्थिक हिसावले मजवुुद र समय दिन सक्ने जोशिलो व्यक्ति अगाडि आउनुहोस् तपाईलाई सबैको साथ रहनेछ । जे होस् यसपालीको मेरो मत यो गर्छु र त्यो गर्छु भन्ने नारा हेरेर होइन अहिलेसम्मको कामको पारा हेरेर आफ्नोलाई होइन राम्रोलाई मत जानेछ । जय एनआरएन ।***

तपाईको प्रतिक्रिया