सउल – कृष्ण मुश्यानको नयाँ नेतृत्व चयन गर्दै नेवाः पुचः दक्षिण कोरियाको सातौं साधारण सभा हालै सम्पन्न भएको छ ।
दोङग्देमुन स्थित नाक्सन गुम्बामा बुधबार भएको सो सभाको विशेष अतिथि नाक्सन गुम्बाका प्रमुख गुरु सञ्जिन भिक्षु र नेवाः पुचः दक्षिण कोरियाका अध्यक्ष एवं समारोहका सभापति डा. नबिन बज्राचार्यले पानसमा बत्ती बालेर संयुक्तरुपमा उदघाटन गर्नुभएको थियो ।
उपाध्यक्ष रमेश श्रेष्ठको स्वागत मन्तब्य रहेको सो समारोहमा कोषाध्यक्ष सञ्जन जोंछेंले आर्थिक कार्य प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
यसैगरी कार्यक्रममा तीन कार्यकाल सम्म नेवाः पुचः दक्षिण कोरियाका नेतृत्व सम्हाल्नुभएका डा. नबिन बज्राचार्यले आफ़्ना अनुभवसहितका मन्तब्य राख्दै सहयोगी सबैमा धन्यबाद ज्ञापन गर्नुभएको थियो ।
साधारण सभामा सल्लाहकारहरु रमेश श्रेष्ठ, श्रीमती गंगा थापा र राजन श्रेष्ठ सदस्य रहेको निर्वाचन मण्डलले कृष्ण मुश्यानको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ । समितिको उपाध्यक्षमा राज देशार र मदनलाल देशार, सचिव बिक्रम श्रेष्ठ, सहसचिव बिकाश महर्जन, कोषाध्यक्ष बीरबहादुर डंगोल, सहकोषाध्यक्ष नानुछोरी महर्जन लगायत कार्यसमितिका सदस्यहरुलाई बिहार प्रमुख संजिन भिक्षुले खादा लगाई पद बहाली गराउनुभएको थियो ।
नयाँ नेतृत्वमा चुनिनुभएका कृष्ण मुश्यान यस अघि नेवाः पुचः दक्षिण कोरियाको सचिव र नेवाः पुचः नेपाल तथा नेवाः पुचः ख्येओङग बुक शाखाको अध्यक्ष पद सम्हाली सक्नुभएको छ ।
सोही दिन अध्यक्ष कृष्ण मुश्यानको अध्यक्षतामा बसेको कार्यसमितिको पहिलो बैठकले उक्त संस्थाका सल्लाहकारहरुको सुझावलाई मध्यनजर राख्दै उपाध्यक्ष पदमा थप एक जना निर्मल महर्जनलाई मनोनित गरिएको छ ।
नवगठित कार्यसमितिले छिट्टै कार्यसमितिका सल्लाहकार तथा थप सदस्यहरु मनोनित गर्ने, निवर्तमान कार्यसमितिलाई सम्मान गर्ने तथा नेपाल फ़र्कन लागेका सदस्यहरुलाई बिदाई गर्ने कार्यक्रम छिट्टै आयोजना गर्ने निर्णय लिएको छ ।
सो अवसरमा नेपाल हाउस सांगीतिक महामेलाका लागि कोरिया आउनुभएका हास्यअभिनेता मदनकृष्ण श्रेष्ठ, हरिबंश आचार्य, नरेन्द्र कंसाकार लगायतलाई सम्मान पनि गरिएको थियो । ***









