दुबई-पथरी युबा समाज युएईले आफ्नो पाँचौ बार्षिकोत्सब गत शुक्रबार सम्पन्न गरेको छ । दुबईको मम्जार पार्कमा भएको बनभोज सहितको उक्त कार्यक्रममा पथरी शनिश्चरे नगरपालिका घर भई हाल युएईमा कार्यरत यस समाजका सदस्य लगायत छिमेकी नगरपालिका तथा गा.बि.स. घर भई हाल युएईमा रहेका नेपालीहरुको बाक्लो उपस्थिति रहेको थियो ।
प्रवासमा रहेपनि एकै ठांउ या छिमेकी ठांउका साथीभाइसंग एक आपसमा भेट्घाट हुने र रमाइलो गर्न पाइने भएकोले समाजले हरेक बर्ष यसरी नै बनभोजका साथ आफ्नो बार्षिकोत्सब मनाउने गरेको सचिब बलराम कुइकेल बताए । बिभिन्न नेपाली परिकारका साथ बार्बेक्यु गरी रमाइलो गर्दै आफ्नै गाउठाउँका साथीभाइसंग बसेर खानपिन गर्न पाउंदा आफुलाई नेपालमै रहेर पिकनिक खाएको याद आएको सह-कोषाध्यक्ष पदम थापाले बताए ।
पहिलो चरणको परिचयात्मक कार्यक्रमसगै समाजका अध्यक्ष कृष्ण पौडेलले समाजले गरेका सामजिक गतिबिधिको जानकारी गराउदै यसबर्ष देखि पथरी शनिश्चरे नगरपालिकाका साथै छिमेकी गाबिस र नगरपालिकाका साथीहरुलाई पनि समाजको सदस्यता प्रदान गरी समाजको आकार फराकिलो बनाउदै लागिने जानकारी गराएका थिए । कार्यक्रमको दोश्रो चरणमा समाजका उपाध्यक्ष दिल राईले उपस्थित सबैलाई बिभिन्न मनोरन्जनात्मक खेलकुद कार्यक्रम खेलाई मनोरन्जन दिएका थिए । त्यसैगरी कार्यक्रमको तेश्रो चरणमा उपाध्यक्ष दिपक न्यौपाने र सांस्कृतिक बिभाग संयोजक रमण दाहालले उपस्थित सबैलाई सामेल गराउदै नेपाली लोकगीतसहित सामुहिक नाचगान समेत गराएका थिए ।
कार्यक्रमको अन्तमा उपस्थित सबैलाई धन्यबाद दिदै समाजका अध्यक्ष कृष्ण पौडेलले खेलकुद कार्यक्रमका बिजेताहरुलाई पुरस्कार प्रदान गरेका थिए ।***











