दूतावास र नेपाली कम्यूनिटीको सहकार्यमा टोली नेपाली बस्तीमा
लण्डन – लण्डनस्थित नेपाली दूतावासले साउथ इष्ट लण्डनका नेपालीहरुको एमआरपी फारम उनीहरुकै क्षेत्रमा पुगेर संकलन गरेको छ । बेलायतमा नेपालीहरुको सबैभन्दा बाक्लो बसोबास रहेको साउथ इस्टका सर्बसाधारणको सुविधाका लागि आइतबार वीलवीचबाटै तीन सय बढी फारम संकलन गरिएको छ ।
दूतावाससंगको सहकार्यमा स्थानीय ग्रिनविच फोरम नेपाल र कपिलवस्तु समाज युकेले फारम संकलन कार्यक्रमको पहल गरेका थिए । कपिलवस्तु समाजका दिपक श्रेष्ठकाअनुसार आइतबार दिनभरमा ३ सय १५ वटा फारम संकलन गरिएको थियो । स्थानीय लोटस क्लबमा बिहान दश बजेदेखि साँझ ५ बजेसम्म पनि संकलनको काम नसकिएपछि एक घण्टा बढाएर ६ बजेसम्म सारिएको थियो । फारम भर्न उपस्थित हुनेहरुको संख्या अत्यधिक भएकाले कतिपयले फारम बुझाउन नपाएर फर्किएका थिए ।
फारम संकलनका लागि दूतावासबाट कार्यवाहक राजदूत तेजबहादुर क्षेत्रीको नेतृत्वमा ८ जना कर्मचारीको टोली खटिएका थिए भने विभिन्न स्थानीय संघसंस्थाका झण्डै ३० जना प्रतिनिधीहरुले स्वयमसेवकका रुपमा फारम संकलनमा सहयोग गरेका थिए । 

फारम संकलनस्थलमा एनआरएन युके, पासा पुच गुठी, जमघट परिवार युके, युथ फोरम एशोसियसन ग्रिनविच, तमुधि साउथ इष्ट, क्षेत्री समाज युके, हाइली स्किल्ड समाज युके, चार्ल्टन समाज लगायतले सहयोग गरेका थिए । त्यस्तै मगर समाज, एबिउड नेपाली समाज, जी गेसो, ठकुरी समाज युके, प्लमस्टिड हिन्दु मन्दिर, नेपालीज नर्स एशोसिएसन, नेपाल उमन डेभलपमेन्ट लगायतका संस्थाका प्रतिनिधी पनि स्वयमसेवामा खटिएका थिए ।
फारम भर्नेहरुमा अधिकांश स्थानीय किशोर किशोरीहरु थिए । फारम भर्ने काममा दिनभर खटिएका १२ वर्षीयय ईभिन श्रेष्ठले उपस्थित धेरैबाट प्रशंसा बटुलेका थिए । दूतावासले यसअघि पनि बेलायतका दर्जनौं ठाउंमा पुगेर स्थानीय नेपालीहरुबाट हजारौं एमआरपी फारम संकलन गरिसकेको छ । सन २०१५ को नोभेम्बरभित्र सबैले एमआरपी राहदानी लिइसक्नुपर्ने भएकाले पनि दूतावासले एमआरपी राहदानी फ़ाराम भराउन थप सक्रियता देखाएको हो ।***








