लोस्बोन- एमाओवादीका दिवंगत नेता स्वर्गीय पोष्टबहादुर बोगटीको निधनको शोकमा पोर्चुगलमा रहेका नेपालीले कार्यक्रम गरेका छन् ।
नेपाली जनप्रगतिशील मञ्च पोर्चुगलले लिस्बोनको रोसियोस्थित शेर्पा किदुकको हलमा आयोजना गरेको कार्यक्रममा पोर्चुगलमा रहेका राजनीतिक र सामाजिक संगठनहरुका प्रतिनिधि र मञ्चमा आवद्ध व्यक्तिहरुको उल्लेख्य उपस्थिति थियो । कार्यक्रममा संयुक्त नेपाली मोर्चा युरोपका उपाध्यक्ष राममणि रिजालले नेपाली राजनीतिका महान हस्ती बोगटीको निधनले नेपाली कम्युनिष्ट आन्दोलनमा अपुरणीय क्षति पुगेको बताए । बोगटीका अधुरा सपना पूरा गर्न सबै लाग्नुपर्ने रिजालको भनाइ थियो ।
कार्यक्रममा मञ्चका उपाध्यक्ष डिलाराम चापागाईं र सल्ललाहकार शेरसिं ठकुरीले मन्तव्य राखेका थिए । उनीहरुले बोगटीको निधनले समुन्नत नेपाल निर्माण अभियानमा धक्का लागेको बताए ।
मञ्चका अध्यक्ष रामबहादुर गौचनको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन महासचिव नारायण सुवेदीले गरेका थिए । कार्यक्रममा एनआरएन पोर्तुगलका उपाध्यक्ष गोबिन्द पौडेल, जनसम्पर्क समिति पोर्तुगलका कावा अध्यक्ष भानु सापकोटा, प्रवासी नेपाली मंचका अध्यक्ष सुवाषचन्द्र अधिकारी, नेपाल आदिवासी तथा जनजाति महासंघ पोर्तुगलका अध्यक्ष कान्छा शेर्पा पत्रकारद्वय योगेन्द्र मिलन छन्त्याल र कमल विष्ट लगायतको उपस्थिति थियो । ***








