सउल – दक्षिण कोरियामा रहेका नेपालीहरुले यो वर्षको दशैं सँधैको दशैं भन्दा फरक तरिकाले मनाउने भएका छन् ।
एउटा खुला मैदानमा विभिन्न तामझामका साथ सामुहिक दशैं मनाउनका लागि नेपाली दूतावास र एनआरएन कोरियाले संयुक्तरुपमा तयारी गरिरहेको बताईएको छ ।
कोरियामा रहेका नेपालीहरुलाई एकै सुत्रमा बाँध्न र दशैंको बेलाको नेपालकै झल्को दिन आफुहरुले यस्तो तयारी गरेको एनआरएन अध्यक्ष विनोद कुंवरले समुद्रपारिलाई बताए ।
अध्यक्ष कुंवरका अनुसार अक्टुवर ५ तारिख विहान ८ बजे देखि नै वोल्गोक स्टेडियममा फुटबल प्रतियोगिता हुनेछ भने संगै रहेको छेउको एउटा खुला मैदानमा बनाईएको शानदार स्टेजमा विभिन्न नाचगानसहित सांस्कृतिक कार्यक्रम हुनेछ र छेवैमा दशैंलाई लक्षित गरी बनाईएका विभिन्न नेपाली परिकारका खानाका स्टल रहने भएको छ ।
सोही दिनको विहानै देखि सुरु हुने फुटबल प्रतियोगितामा १८ टिमको सहभागिता रहने भएको छ । दुई समुहमा विभाजन गरिएको प्रतियोगितमा समुह ‘ए’ मा रहेका टिमले वोल्गोक स्टेडियममा प्रतिस्पर्धा गर्नेछन भने समुह ‘वि’ मा रहेका टिमले सोयसान स्टेडियममा प्रतिस्पर्धा गर्नेछन् । सेमिफाइनल र फाइनल खेल भने वोल्गोक स्टेडियममा नै हुनेछ ।
प्रतियोगितामा प्रथम हुने टिमलाई राजदूत रनिङ् कप सहित २५ लाख वन, द्वितीय हुनेलाई १० लाख वन र तृतिय हुनेलाई ५ लाख वन पुरस्कार राखिएको छ ।
उता साँगीतिक कार्यक्रमतर्फ गायक प्रकाश तिमिल्सिनाले उपस्थित दर्शकहरुलाई मनोरञ्जन प्रदान गर्नेछन् । बाढिका कारण दुवै आंखा गुमाएका प्रकाशले १४ भाषामा गीत गाउन सक्छन् ।कार्यक्रममा कोरियामा चर्चामा रहेको सुनाखरी ब्याण्डको लाइभ प्रस्तुती पनि रहनेछ भने गायिका समला राईले आफ़्ना गीतहरु पस्कने भएकीछिन् ।
यसरी तामझामका साथ तयारी गरिएको कार्यक्रको प्रवेश शुल्क भने २५ हजार वन राखिएको छ । उक्त रकम एनआरएनले सञ्चालन गरेको नेपाल हाउसलाई सहयोग गरिने बताईएको छ । बिजया दशमी अक्टोवर ३ मा पर्ने भए पनि कोरियामा सवै नेपालीहरुलाई विदा मिल्ने आइतवारका दिन दशैं मनाउन लागिएको हो । ***








