काठमाडौं – गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कुवेतको अगुवाईमा कुवेतमा रहेका नेपालीहरु तथा त्यहांस्थित संघ संस्थाहरुको संयुक्त आह्वानमा कुवेत तथा खाडी मुलुकहरुमा घरेलु कामदारको रुपमा महिलाहरुलाई सुरक्षाको पूर्ण ग्यारेन्टी नभएसम्म पठाउन नहुने मागसहित ५ हजार व्यक्तिको हस्ताक्षर संकलन सहितको ५ मिटर लामो व्यानर र ज्ञापन पत्र प्रधानमन्त्री सुशील कोइरालालाई हालै हस्तान्तरण गरिएको छ ।
उक्त हस्ताक्षरसहितको ज्ञापन पत्र प्रधानमन्त्रीको कार्यालय मार्फत हस्तान्तरण गरिएको हो ।
हाल नेपाली घरेलु महिला कामदारहरु कुवेतमा आउन रोक भएपछि कुवेतमा घरेलु महिला कामदारको अवस्थामा आमचासोको विषय हुन थालेकोले यसले कुवेती स्पोन्सर र सरकार माथि पनि दवाव पर्ने देखिएको छ । यस परिस्थितिमा कुनै पनि बहानामा घरेलु महिला कामदारहरुको सुरक्षाको पूर्ण ग्यारेन्टी नभएसम्म श्रम स्वीकृति र भिसा प्रमाणीकरण खुला नगर्न समेत ज्ञापनपत्रमा अनुरोध गरिएको छ । ***









