दुबई – वैदेशिक रोजगारीको सिलसिलामा युएइस्थित कार्यरत नेपाली चेलीहरुको माइतीको सम्झना र दर खाने रहरलाई गत १५ अगस्त शुक्रबारका दिन दुबईको याक एण्ड यति नेपाली रेष्टुरेण्टमा धादिङ समाज युएइले पूरा गरिदिएको छ ।महिलाहरुको हरितालिका तीज नजिकिदै जाँदा दाजुभाइ तथा दिदीबहिनीहरुलाई जमघट गराई दर खाने कार्यक्रम आयोजना गरिएको हो । 
उक्त तीज बिशेष दर खाने कार्यक्रमको प्रमुख अतिथिमा धादिङ समाज युएइका संरक्षक चन्द्रप्रसाद सापकोटा रहनुभएको थियो भने कार्यक्रमको अध्यक्षता धादिङ समाज युएइका अध्यक्ष भिम अधिकारीले गर्नुभएको थियो । अन्य अतिथिहरुमा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, समाजसेवी र पत्रकारहरु रहेका थिए ।
उपाध्यक्ष धनबहादुर पाठकको शुभकामना मन्तव्य र महासचिव गुणनिधि धमलाको संचालनमा भएको कार्यक्रम दुइ चरणमा विभाजित गरिएको थियो । जसमा पहिलो चरणको कार्यक्रम औपचारिकको रुपमा रहेको थियो भने दोस्रो चरणको कार्यक्रम दर खाने र रमाइलो गर्ने कार्यक्रम रहेको थियो ।
दैनिक आ-आफ़्नो काममा व्यस्त रहने चेलीहरु त्यस दिन भने रातो साडी र छड्के तिलहरीको पहिरनमा सजिएर दर खानमा मस्त देखिन्थ्यो । यसरी पूर्खादेखि चलिआएको परम्परागत दर खाने प्रथालाई प्रवासको भूमिमा उजागर गर्नु पनि सह्रानीय कार्यको रुपमा लिनुपर्दछ । धादिङ समाज युएइले यस्ता प्रकारका कार्यक्रम आयोजना गरेर साच्चिकै युएइका चेलीहरुको माइतीको सम्झना बिर्साई दिएका छन् । 
सो अवसरमा संस्थालाई स्थापनाकालदेखि नै विभिन्न ठाउंबाट टेवा पुर्याएको भन्दै क्रमशः चन्द्रप्रसाद सापकोटा, भुवन गुरुङ र लेख योञ्जन तामाङलाई सम्मान समेत गरेको छ । त्यसैगरी तीज बिशेष दर कार्यक्रम आयोजना गर्नको निम्ति विभिन्न क्षेत्रबाट सहयोग पुर्याउने लालबहादुर ढेंगा, लक्ष्मण भण्डारी, राजु खड्का, गोपाल कंडेल, राजेन्द्र अधिकारी, चित्रबहादुर केसी र मणिप्रसाद भुर्तेललाई सम्मान पत्र दिईएको थियो । ***









