एबर्डिन – बेलायतको स्कटल्याण्डस्थित एबर्डिनमा हालै एक समारोहको आयोजना गरी नेपालबाट भ्रमणमा आउनुभएका बरिष्ठ साहित्यकार नरेन्द्रराज प्रसाईं तथा इन्दिरा प्रसाईंको भब्य स्वागत गरिएको छ ।
स्कटल्याण्डको नेपाली समुदायमा क्रियाशील संस्था अर्गनाईजेसन फर नेप्लिज कल्चर यन्ड वेलफेयर (ओएनसि डब्लु) ले आयोजना गरेको हेल्थ वाकको अवसरमा भेला भएका नेपालीहरुले साहित्यकर्मीद्वयको स्वागत गर्दै एक लघु कविता गोष्ठी समेत आयोजना गरिएको थियो। सो अवसरमा बरिष्ठ साहित्यकार इन्दिरा प्रसाईंले बेलायत भ्रमण क्रममा लेखिएको कविता वाचन गर्नु हुदै बिदेशमा रहेर पनि आफ्नो मातृभूमिको माया पाएको बताउनु हुदै सम्पूर्ण एबर्डिनवासी नेपालीप्रति आभार प्रकट गर्नुभएको थियो।
कार्यक्रममा एबर्डिनवासी नेपालीहरुको तर्फबाट स्वागत गर्दै जेष्ठ नागरिक सोमा घिमिरेले “चरीको बिलाप” कविताका केही पंक्तिहरु वाचन गर्नुभएको थियो भने अन्तर्राष्ट्रिय नेपाली वांगमय (अनेवा) का उपाध्यक्ष तथा बरिष्ठ कवि गोपीकृष्ण प्रसाईंले समसामयिक कविता वाचन गर्नुभएको थियो।








