काठमाडौं – ‘नारीका लागि नारी’ द्वारा स्थापना गरिएको एक करोड एक रुपैयांको नारीका लागि नारी परोपकारी अक्षय कोषको हालै इजरायलमा उदघाटन भएको छ ।
एक बृहत साँस्कृतिक कार्यक्रम सहितको समारोहमा प्रमुख अतिथि इजरायलका लागि नेपाली राजदूत प्रल्हादकुमार प्रसाइले पानसमा दिप प्रज्वलन गरी सो कोषको उद्घाटन गर्नुभएको हो ।
गत शनिवार इजरायलको तेलअभिवमा ‘राष्ट्रिय समृद्धिका लागि नारी एकता’ भन्ने मुल नारासंगै सुरु भएको उदघाटन समारोहमा राष्ट्रियगानको सुमधुर धुन बजाईनुका साथै वैदेशिक रोजगारीका क्रममा इजरायलमा रही सन् २००५ देखि हालसम्म विविध कारणवश अकालमा ज्यान गुमाएका नेपालीहरुको नाम पढेर सुनाई दिवंगतहरुको सम्झनामा एक मिनेट मौन धारण गरिएको थियो ।
मातृभूमिलगायत विभिन्न देशहरुमा छरिएर रहेका सक्रिय महिलाहरुको संयुक्त पहलमा घोषणा गरिएको ‘नारीका लागि नारी एक करोड एक रुपैयांको परोपकारी अक्षयकोषका संस्थापकहरुको परिचय गराईएको थियो । यसैगरी जापानमा रहेका संस्थापक सदस्यद्वय संगिता अधिकारी (सुबेदी) र दिपा सिंखडाले लेखेर पठाउनुभएको शुभकानमा सन्देश कार्यक्रममा पढेर सुनाईएको थियो ।
कार्यक्रममा संस्थापक सविता अधिकारीले स्वागत मन्तव्य दिंदै नारीहरुले थालेको यस पूण्य कार्यमा साथ र सहयोग दिदै कार्यक्रम स्थलसम्म आईपुग्नुभएका सम्पूर्ण महानुभावहरुप्रति हार्दिक आभार प्रकट गर्नुभएको थियो ।
शुभकामना मन्तव्य दिदै कार्यक्रमका प्रमुख अतिथि प्रसाईले नारीहरुले शुरु गरेको प्रशंसनीय कार्यमा सहभागी हुन पाउँदा खुसी लागेको वताउँदै प्रवासी भूमिवाट पनि देशमा रहेको विद्यमान समस्या समाधानका निम्ति कोष खडा गरिनु पवित्र कार्यको शुरुवात भएको बताउनुभयो । यो शुरुवात संगै आधा काम पनि भईसकेकोले संसारभरका दिदिवहिनीहरुको पहलमा यस अभियानले सफलता पाउने विश्वास व्यक्त गर्नुभयो । समाजमा नारीहरुले पनि केही गर्न सक्छन् भन्ने आत्मविश्वासका साथ अघि वढाईएको यस अभियानलाई सवैतिरवाट सहयोग मिल्नेछ र विश्वव्यापी रुपमा स्थापित हुनेछ भन्ने विश्वास लिएको वताउनुभयो । पवित्र कार्यमा सहयोग र समर्थन गर्नेहरुलाई धन्यवाद दिदै अभियन्ताहरुलाई कार्य सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।
मन्तव्यको क्रममा संस्थापक सावी पाठकले संस्था स्थापना गर्नुको कारण तथा संस्थाको परियच दिनुभएको थियो भने संस्थाको कार्यपत्र तथा भावी योजना संस्थापक नितु खतिवडाले प्रस्तुत गर्नुभएको थियो । त्यस्तै मन्तव्यकै क्रममा नारी आवाज इजरायलकी उपाध्यक्ष नेहा गुरुङले नारीका लागि नारी एक करोड एक परोपकारी अक्षयकोष सकारात्मक कार्यको शुरुवात भएको वताउँदै नारीहरुको हक हित र न्यायको लागि आफ़्नो सहयोग तथा समर्थन सदैव रहने वताउँदै शुभकामना व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा नविन प्रतिभा सांझ, अन्तरराष्ट्रिय कलाकार मञ्च र कलाकार समाज लगायतका कलाकारहरुको विशेष प्रस्तुती रहेको थियो । नविन प्रतिभा सा“झको तर्फबाट नारीहरुसंग सम्वन्धित ‘अन्धकारमा रुमल्लिएको समाज” नामक व्याङ्ग्यात्मक नाटक तीन चरणमा प्रस्तुत गरिएको थियो । उक्त नाटकमा विश्व नेपाली साहित्य महासंघका उपाध्यक्ष दिपेन्द्र थापाको लेखन तथा निर्देशन रहेको थियो ।
औपचारिक कार्यक्रम सञ्चारकर्मी शुभद्रा भण्डारी, संस्थापक सिता तिवारी र काजल घिमिरेले सञ्चालन गर्नुभएको थियो भने अनौपचारिक कार्यक्रम संस्थापक नितु खतिवडाले सञ्चालन गर्नुभएको थियो ।
सकारात्मक सोचसंगै केही हद भए पनि सामाजिक परिवर्तनका लागि हातमा हात र साथमा साथ मिलाउदै लम्किईरहेका महिला दिदिवहिनीहरुले शुरुवात गरेको सो अभियानमा संकलित सहयोग रकमको वारेमा केही दिनमा नामावली सूची सार्वजनिक गरिने आयोजक टिमले जनाएको छ । **








