लण्डन – बेलायतमा एक साहित्यिक समारोहको आयोजना गरी आदीकवि भानुभक्त आचार्यको द्वीशतवार्षिकी मनाईएको छ ।
आदिकवि भानुभक्त आचार्य द्वीशतवार्षिकी समारोह समिति वेलायतको आय़ोजनामा ८ जुन २०१४ का दिन नेपाली दूताबास लण्डनको सभा हलमा साहित्यिक कार्यक्रमका साथ २०० औं भानुजयन्ती मनाईएको हो ।
कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै कार्यवाहक राजदूत तेजबहादुर क्षेत्रीले नेपाली भाषा र साहित्य राष्ट्रको प्राण भएको बताउँदै विश्वभरि छरिएर रहेका नेपालीहरु माझ यस २०० औं भानुजयन्तीले भावनात्मक एकताको सन्देश पुर्याउन सकोस भन्दै समारोह समितिका सबै सदस्यहरुलाई हार्दिक धन्यवाद व्यक्त गर्नुभयो ।

त्यस्तै अतिथिहरु क्रमश: यति नेपाली एसोसिएनका पूर्वअध्यक्ष एवम् वरिष्ठ समाजसेवी ओविई डा. राधवप्रसाद धिताल, विविसी नेपाली सेवाकापूर्व प्रमुख एवम् नेपाली साहित्य विकास परिषद युकेका अध्यक्ष खगेन्द्र नेपाली, एनआरएन वेलायतका वरिष्ठ उपाध्यक्ष सूर्य नेम्बाङ, महासचिव राजकुमार त्रिपाठीले भाषाको विकास नै राष्ट्रको विकास भएको, आदिकवि भानुभक्त आचार्यको कारण नेपाली भाषा संमृद्ध र व्यापक बन्दै गएको, नेपाली भाषा साहित्य देशदेशान्तर पुग्न सकेको, भानु नेपाली जातीका मानसपीता भएको चर्चा गर्नुभयो ।
वेलायतस्थित साहित्यिक संस्थाका प्रतिनिधिहरु क्रमशः अन्तर्राष्ट्रिय नेपाली वाङ्मय प्रष्तिठान वेलायतका अध्यक्ष विकलचन्द्र आचार्य, विश्व नेपाली साहित्य महासंघका अध्यक्ष विश्वासदिप तिगेला, नेपाली प्रतिभा प्रतिष्ठानका प्रतिनिधि देवेन्द्र खेरेस, अनेसास बेलायतका प्रतिनिधि सुमलकुमार गुरुङ लगायतका वक्ताहरुले पनि भानुको भाषिक महिमा र डायस्पोरामा नेपाली भाषाको विकास गर्न आफूहरु लागिपरेको र नेपाली भाषा साहित्यलाई अन्तर्राष्ट्रियकरण गर्न हरसंभव प्रयत्न गरिरहेको जानकारी गराउनुभयो । वहाँहरु सबैले संसारको जुनसुकै कुनामा रहे पनि आफ़्नैपनमा रमाउने सँस्कार, आफ़्नै नेपाली आकाश खोज्ने परम्परा हामीले आदिकविबाट सिकेको कुरा जनाउनुभयो ।
प्रवासमा नेपाली भाषाको उत्थान बारेमा आफ़्नो समिक्षात्मक मन्तव्य पत्रकार गोविन्द वेलबासेले दिनुभएको थियो भने सोमनाथ मेमोरियल ट्रष्टका अध्यक्ष डा. सोहन घिमिरेले बाँसुरीको मिठो धुनमा रामायणको श्लोकहरु प्रस्तुत गर्नुभयो ।
यसैगरी भानुको अभिनयमा जुटेर उनको ऐतिहासिक पक्षलाई उजागार गर्ने कलाकार सनम वैराग हुनुहुन्थ्यो र साथ दिनेमा कोमलपसाद मल्ल श्रेष्ठ हुनुहुन्थ्यो । बोल्ने क्रममा नेपालबाट पाल्नुभएका साहित्यकार एवम शिक्षासेवी रामचन्द्र आचार्यले भानु वंशावाली सम्बन्धी रोचक जानकारी गराउनुभयो । कार्यक्रममा उपस्थित सम्पूर्ण आगन्तुकहरुलाई कवि डा. गोपाल पौड्यालले स्वागत गर्नुभएको थियो । त्यसैगरी समारोह समितिका उपाध्यक्ष हरिसिंह थापाले रामायणका श्लोकहरु लय हालेर मीठो शैलीमा बाचन गर्नुभयो । नेपालका चर्चित गायिका शर्मिला वर्देवाले पनि रामायणका श्लोकहरुलाई आफ़्नो मीठो स्वरमा पस्कनुभएको थियो । 
राष्ट्रियगानबाट सुरु गरिएको साहित्यिक कार्यक्रममा पण्डित निलहरी घिमिरेले गायत्री मन्त्रोच्चरण गर्नुभएको थियो र यस पछि भानुको तस्विरमा क्रमैसंग सवैले फूलमाला चढाईयो । कार्यक्रममा आर्थिक संयोजक सोलिसिटर राजु थापाले कार्यक्रमको प्रायोजनकर्ताहरुको नाम पढेर सुनाउनुभएको थियो भने प्रमुख अतिथिले प्रायोजकहरुलाई प्रशंसापत्र प्रदान गर्नुभएको थियो । कोषाध्यक्ष कोमल मल्लले कार्यसमितिका समितिका सम्पूर्ण सदस्यहरुको नाम पढेर सुनाउदै संक्षिप्त परिचय पनि प्रस्तुत गर्नुभएको थियो । प्रथम चरणको कार्यक्रम साहित्यकार गोपीकृष्ण प्रसाईले सञ्चालन गर्नुभएको थियो ।
दोस्रो चरणको कार्यक्रम ज्ञानेन्द्र राउतले सञ्चालन गर्नुभएको थियो । यस चरणमा भानुको बहुआयामिक व्यक्तित्व र कृतित्व माथि चर्चा भएको थियो । भानुभक्त आचार्यको बारेमा समय सापेक्ष र नेपालको वर्तमान विषम परिस्थितिलाई चित्रण गर्नुको अलावा डायस्पोराका नयाँ पुस्तालाई समेत समेटेर अनेवा वोर्डअफ ट्रष्टीका अध्यक्ष खगेन्द्र पाठकले सारगर्भित लेख प्रस्तुत गर्नुभयो । प्रवचन दिने क्रममा साहित्यकार गोपीकृष्ण प्रसाईले नेपाली भाषा साहित्यको इतिहास केलाउदै भक्ति धाराका सर्बश्रेष्ठ कवि, नेपालका आदि कवि र नेपाली वाङ्मयका विराट व्यक्तित्व भानुभक्त आचार्यले रामायण लेखेर संस्कृतको बोलवाला भएको जमानामा ठूलो क्रान्ति गरेको उल्लेख गर्दै सम्पूर्ण नेपालीहरु माझ भाषिक र सांसकृतिक एकिकराण गर्न सफल भएको कुरा उल्लेख गर्नुभयो । अर्का वक्ता दुर्गाप्रसाद पोख्रेलले रामायाणको प्रसंग निकाल्दै सीता भनेको सान्त भाव, रावण भनेको द्वेष र ईर्ष्या भाव हो र राम भनेको कर्तव्य परायण हो भन्दै आफ़्ना अवधारणाहरु राख्नुभयो । नाटककार तथा कवि गोपी सापकोटाले भानुलाई उत्तरआधुनिक दौडमा पनि ग्रहण गर्दै जानुपर्ने बताउनुभयो ।
कार्यवाहक राजदूत तेजबहादुर क्षेत्री, सैनिक सहचारी विश्वनाथ घिमिरे लगायत दूतावासका अन्य कुटनैतिक तथा स्थानिय कर्मचारीहरुले कार्यक्रमलाई सफल पार्न महत्वपूर्ण भूमिका निभाउनुभएको थियो । कार्यक्रममा वेलायतस्थित ठूलो संख्यामा साहित्यिक संस्थाहरु र सामाजिक संस्थाहरुको सक्रिय सहभागिता रहेको थियो । 
कार्यक्रममा बेलायतभरि छरिएर रहेका स्रष्टाहरुको कविता, गीत र गजल बाचन गरिएकोे थियो । रचना वाचन गर्नेहरुमा गोपी सापकोटा, दुर्गाप्रसाद पोखे्रल, किरण टी लिम्बु, विमला गौतम, देवेन्द्र खेरेस, जया राई, समिप हाङ्वाङ्ग जर्ज, शशी थापा सुब्बा, सावी श्रेष्ठ, विजय हितान मगर, विनोद रोक्का, नरेश काङ्गमाङ्ग, निर्मला राई परिवेश, विनोद रोक्का, मञ्जु भण्डारी, संतोष खनाल, खगेन्द्र पाठक, रेशम अर्याल, विश्वासदिप तिगेला, वाचस्पति रेग्मी, विमला थापा, मोतिराज भण्डारी, गोकुल भण्डारी, फडिन्द्र भट्टराई, दलबहादुर बुढाथोकी, प्रतिभा बोहोरा, घनबहादुर थापा, कोमल मल्ल, लिला गुरुग, सुरेसजंग साह, सुमलकुमार गुरुङ, डा. सधा श्रेष्ठ हुनुहुन्थ्यो ।
कार्यक्रमको अन्तमा समारोहका अध्यक्ष सुरेसजंग शाहले नेपाल सरकारले सतवार्षिकी समारोह समिति बेलायतको गहन जिम्मेवारी आफूलाई दिएको र यसलाई सफल पार्न कार्यसमितिका सबै सद्स्यहरुको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्नुभयो । वहाँले आदि कविको यो २०० औं जन्मजयन्ती बेलायतमा मनाउन पाउनु आफ़्नो जीवनको महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो । ****








