आबुधाबी – नेपाल आदिबासी जनजाती महासंघ युएइले आउँदो मे ३० तारिख २५५८ औं बुद्धजयन्ती मनाउने भएको छ ।
शान्तिका प्रतिक, एसियाका तारा गौतम बुद्ध नेपालमा नै जन्मेका हुन् भन्ने सन्देश संसारभर फैलाउने उद्देश्यले यो वर्षेदेखि बुद्धजयन्ती मनाउन लागेको नेपाल आदिबासी जनजाती महासंघ युएइका अध्यक्ष डेरराज गुरुङले बताउनुभयो ।
गौतम बुद्धको जन्म स्थलको बारेमा गलत प्रचार गर्दै भारतले बिगतको समयमा नेपाल र नेपालीप्रति कुठाराघात गरेको बताउँदै अध्यक्ष गुरुङले युएइको बरदुबईस्थित एभरेस्ट होटलमा बुध्दपूजा सहित ‘बुद्ध वाज बर्न इन नेपाल’ लेखेको टि-सर्ट लगाएर विभिन्न समूहमा बिभाजन भई दुबईको विभिन्न स्थलहरुको परिक्रमा गरिने बताउनुभयो ।
नेपाल आदिबासी जनजाती महासंघ युएइले आयोजना गर्न लागेको उक्त कार्यक्रमले विश्व समुदायलाई सकारात्मक सन्देश दिने तथा नेपालमा पर्यटन पर््रबर्धनमा पनि सहयोग पुग्ने भएकोले युएइबासी नेपाली समुदायले सक्दो सहयोग गर्नुपर्ने महासंघका उपाध्यक्ष तथा शेर्पा किदुंग युएइका अध्यक्ष पासाङरिञ्जी शेर्पाले बताउनुभयो ।
तमु, तामाङ, मगर, राइ, लिम्बु, शेर्पा, नेवार, थारु र भुजेल लगायतका जातजाति संलग्न नेपाल आदिबासी जनजाती महासंघ युएइले यस अघि पनि बिभिन्न कार्यक्रमहरुका साथै जनजाती महोत्सब २०१३ र १४ सम्पन्न गरिसकेको छ ।








