टोकियो – गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदले (एनआरएन केन्द्र) ले प्रधानमन्त्री सुशील कोइराला र वर्तमान सरकारलाई कार्यकाल सफलताको कामना सहित हार्दिक बधाई ब्यक्त गरेको छ ।
संबिधान सभाको निर्वाचनपछि लामो समयसम्म रहेको अन्यौलतालाई चिर्दै प्रधानमन्त्री बन्नुभएका काँग्रेस सभापति सुशील कोइराला र कोइरालाको नेतृत्वमा गठित वर्तमान सरकारलाई एनआरएनले हार्दिक बधाई तथा शुभकामना ब्यक्त गरेको हो ।
एनआरएनका केन्द्रीय महासचिव कुमार पन्तले जारी गर्नुभएको एक बिज्ञप्तीमा भनिएको छ – सम्पूर्ण गैह्र अवासीय नेपालीहरुको तर्फबाट प्रधानमन्त्री कोइराला, उपप्रधान तथा गृहमन्त्री बामदेव गौतम, उपप्रधान तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंह लगायत बर्तमान मन्त्रीपरिषदमा चयन हुनुभएका सबै मन्त्रीज्यूहरु र राज्यमन्त्रीज्यूहरुलाई हार्दिक बधाइ दिन चाहान्छौ । साथै उहाँहरुको कार्यकालको पूर्ण सफलताको कामना पनि गर्न चाहन्छौ । संबिधान सभामा निर्वाचित विभिन्न राजनीतिक दलहरुका बिच सहमति जुटाउन र मुलुकमा सुशासन कायम गरी बिकास निर्माणका कामहरु अघि बढाउन यो सरकारलाई पूर्ण सफलता मिलोस भन्ने हार्दिक शुभकामना पनि ब्यक्त गर्न चाहन्छौ ।
जनताको मुख्य चाहना भनेको शान्ति सुरक्षाको प्रत्याभूति, अमनचयन, प्रभावकारी तथा भ्रष्टाचाररहित सुशासन नै हो । गैह्र आवासीय नेपालीहरुले नेपालमा अब बन्ने संबिधानको माध्यमबाट नेपाली नागरिकताको निरन्तरता हुनुपर्ने भन्ने बिषयलाई अहिले जोडदार ढंगले उठाइरहेको छन् । यस बिषयमा सबै पक्ष सकारात्मक देखिएको अवस्था छ – बिज्ञप्तीमा उल्लेख छ ।
प्रधानमन्त्री कोइरालाज्यूको नेतृत्वमा अहिले बनेको सरकारले देश भित्र र बाहिर छरिएर रहेका सबै नेपाली जनताका चाहनाहरु पुरा गर्नमा पूर्णा सफलता प्राप्त गरोस भन्ने कामना ब्यक्त गर्न चाहन्छौ । साथै मुलुकमा आर्थिक तथा बौद्धिक लगानी भित्र्याइ मुलुकको समृद्धिका लागि सरकारसंग हातेमालो गर्दै अघि बढ्नका लागि गैह्र आवासीय नेपाली संघ सदैब तत्पर रहेको कुरा पनि पुनः स्मरण गराउन चाहन्छौ – बिज्ञप्तीमा भनिएको छ । ***








