बङ्गलादेश – बङ्गलादेशको राजधानी ढाकामा तीन दिनअघि भत्किएको भवनबाट उद्वारको काम जारी नै रहँदा शनिबार बिहानसम्ममा कम्तीमा पनि ३ सय २४ जनाको शव निकालिएको छ ।
उक्त भवन भत्किँदा मृत्यु हुनेको सङ्ख्या शुक्रबार नै ३ सय ४ पुगिसकेको समाचारमा जनाइएको थियो । उद्वारकर्मीहरुले सो सङ्ख्या बढेर शनिबार बिहानसम्म ३ सय २४ पुगेको जनाएका हुन् ।
पाँचवटा जति साना ठूला तयारी पोशाकका कारखाना रहेको आठतले सो भवन बुधबार बिहान भत्किएको थियो । त्यसमा परी घाइते भएका व्यक्तिको सङ्ख्या एक हजार नाघेको पनि समाचारमा जनाइएको छ ।
यसैबीच भत्केको उक्त भवनको तेस्रो तलामा जीवितै रहेका भनिएका नागरिकको उद्वारका लागि शनिबार बिहानैदेखि प्रहरीले व्यापक परिश्रम गरिरहेको बताइएको छ ।
भवन भत्किएको साठी घन्टापछिसम्म जारी रहेको उद्वारप्रक्रिया अन्तर्गत ती ५० व्यक्ति शुक्रबार जिउँदै फेला पारेको जानकारी अग्निनियन्त्रण अधिकारीहरूले दिएका थिए ।
उक्त तलामा पुग्न उद्वारकर्मीहरूले प्वाल पारेको र त्यहाँ ५० व्यक्ति अझै जिउँदै देखिएको बताइएको थियो । शुक्रबार पनि ८० व्यक्तिलाई प्रहरीले भग्नावशेषबाट जीवितै उद्वार गरेको थियो ।
बङ्गलादेश अग्निनियन्त्रण सेवाका उपनिर्देशक शेख मिजानुर रहमानले शनिबार बिहानसम्ममा ती व्यक्तिको उद्वारको काम जारी रहेको जानकारी दिए ।
उक्त भवनको भग्नावशेषबाट शव निकाल्ने प्रयास अझैपनि जारी नै रहेको उद्वारकर्मीले जनाएका छन् । उनीहरूका अनुसार अझैपनि केही व्यक्ति च्यापिएको हुनसक्ने अनुमान छ ।
उद्वारकर्मीहरुले सो भवनबाट कम्तीमा पनि दुई हजार ३ सय व्यक्तिको जिवितै उद्वार गरिएको बताएका छन् । उनीहरुका अनुसार ती जिवित व्यक्ति पनि गम्भीर रुपमा घाइते भएका जनाइएको छ ।
राजधानी ढाकामा डेरागरी बस्ने एक नागरिकले भने म गत बुधबार बिहानदेखि नै यहाँ छु र मेरा काका काकीको अवस्थाका बारेमा केही थाहा पाउन सकिरहेको छैन ।
शुक्रबार प्रहरीले ५० जना व्यक्ति जीवितै रहेको अवस्थामा पाइएको बताएकोले सोही समूहमा मेरा काका काकीपनि जिवितै छन् कि भनेर हेरिरहेको छु– उनले भने ।
बङ्गलादेशमा यसरी भवन भत्किएर नागरिकको ज्यान जाने घटने धेरै मात्रामा हुने गर्दछन् । गत नोभेम्बर महिनामा पनि तयारी पोशाकको एक कारखानामा आगलागी हुँदा १ सय १२ व्यक्तिको मृत्युभएको थियो । यो घटनाले पनि सोही पुरानो दुर्घटना सम्झाएको छ । ***








