काठमाडौं- पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो सरकारकै पालामा सभासद् बालकृष्ण ढुङ्गेललाई आममाफी दिने सहमति भएको भन्ने माओवादी अध्यक्ष प्रचण्डको भनाइप्रति आपत्ति जनाएका छन् ।व्यक्तिहत्यामा अपराधी ठहर भई सर्वस्वसहित जन्मकैदको सजाय पाएका सभासद बालकृष्ण ढुंगेललाई माधवकुमार नेपाल नेतृत्वको सरकारकै पालामा आममाफी दिने मौखिक सहमति भएको प्रचण्डको अभिव्यक्तिलाई ढाँटको संज्ञा दिएका छन् । ‘ तथ्य अर्कै छ,’ पूर्वप्रधानमन्त्री नेपालले भने, ‘यो कुरा गलत हो, तत्कालीन गृहमन्त्रीसँग कुरा गर्दा सबै स्पष्ट भइहाल्छ ।’
तत्कालिन गृहमन्त्री भीम रावलले भने प्रचण्डले भनेजस्तो सहमति नभएको दाबी गरे । ‘एक दिन संसदभित्र प्रधानमन्त्रीको कोठामा प्रचण्ड र बाबुराम दुवै जना आएर गिरफ्तार नगर्नुहोस् भनेर आग्रह गर्नुभयो । मैले अदालतले आदेश दिएपछि कुन मान्छे कहाँ गिरफ्तार हुन्छ हुँदैन भन्ने कुरा भएन भनेको थिएँ, त्योबाहेक कुनै कुरा भएको छैन,’ रावलले भने ।








