टोकियो – टोकियो महानगरकी गभर्नर युरिको कोइकेले वैदेशिक उच्च शिक्षाका लागि एक महत्त्वपूर्ण र महत्त्वाकाङ्क्षी छात्रवृत्ति योजनाको घोषणा गर्नुभएको छ । टोकियो महानगरपालिका अन्तर्गतका सरकारी उच्च माध्यमिक विद्यालयबाट विश्वका शीर्ष विश्वविद्यालयहरूमा भर्ना हुने मेधावी विद्यार्थीहरूका लागि महानगरले ‘ग्रान्ट-बेस्ड’ (फिर्ता गर्नु नपर्ने) छात्रवृत्ति कार्यक्रम ल्याउने भएको हो ।
जुन १६ मा आयोजित टोकियो महानगर सभाको नियमित बैठकमा गभर्नर कोइकेले यस योजनाको रूपरेखा सार्वजनिक गर्नुभएको हो । टोकियो महानगर शिक्षा बोर्डका अनुसार यो छात्रवृत्ति प्राप्त गर्न विद्यार्थीहरूले विश्वका उत्कृष्ट १०० भित्र पर्ने विश्वविद्यालयहरूमा भर्ना हुनुपर्नेछ । यस्तै, संगीत, ललितकला, प्रदर्शन कला र खेलकुद जस्ता विशिष्ट विधामा अध्ययन गर्न चाहनेहरूको हकमा भने ती विधाका विश्वकै उत्कृष्ट १० भित्र पर्ने शिक्षण संस्थाहरूमा भर्ना भएको हुनुपर्नेछ ।
यस छात्रवृत्तिका लागि योग्य हुन विद्यार्थीको परिवारको वार्षिक आम्दानी २ करोड येनभन्दा कम हुनुपर्ने प्रावधान राखिएको छ । छनोट भएका विद्यार्थीले प्रतिवर्ष अधिकतम ८० लाख येनसम्मको शिक्षण शुल्क प्राप्त गर्नेछन् । यो सहयोग सैद्धान्तिक रूपमा चार वर्षसम्म निरन्तर उपलब्ध गराइनेछ र यो पूर्ण अनुदान भएकाले पछि फिर्ता गर्नु पर्ने छैन ।
महानगरले प्रतिवर्ष करिब १० जना उत्कृष्ट विद्यार्थीहरूलाई सुक्ष्म छनोट प्रक्रियामार्फत यो छात्रवृत्ति प्रदान गर्नेछ । सन् २०२७ को अप्रिलदेखि २०२८ को मार्चबीच विश्वविद्यालय प्रवेश गर्ने विद्यार्थीहरूलाई लक्षित गरी यसै वर्षको जुलाईदेखि आवेदन खुल्ला गरिने गभर्नर कोइकेले जानकारी दिनुभयो । ‘हामी ती युवाहरूलाई थप सहयोग गर्न चाहन्छौँ, जसले टोकियोको भविष्य निर्माण गर्नेछन् र चुनौतीहरूलाई आत्मसात गर्न तयार छन्,’ गभर्नरले भन्नुभयो ।
यसै बैठकमा डिजिटल सेवा ब्यूरोका महानिर्देशक कात्सुमी ताकानोले ‘टोकियो एप’ सँग सम्बन्धित नयाँ व्यवस्थाको बारेमा जानकारी दिनुभयो । दैनिक जीवनमा सहयोग पुर्याउन महानगरले एपमार्फत वितरण गर्दै आएको ११ हजार येन बराबरको ‘पोइन्ट’ लिन अब प्रतिनिधिमार्फत पनि आवेदन दिन सकिनेछ ।
विशेषगरी अपाङ्गता भएका व्यक्ति वा हेरचाहमा रहेका वृद्धवृद्धाहरू, जसले आफैँ स्मार्टफोन चलाउन कठिनाइ भोगिरहेका छन्, उनीहरूका लागि यो व्यवस्था ल्याइएको हो । अब उनीहरूका तर्फबाट कानुनी प्रतिनिधि, पति वा पत्नी वा नजिकका परिवारका सदस्यले आवेदन दिन सक्नेछन् ।








