समाचार सुन्नुहोस :
काठमाडौँ – बेलायतमा मे र जुन महिनामा परेको अत्यधिक गर्मीका कारण २ हजार ७०० भन्दा बढी मानिसको मृत्यु भएको हुन सक्ने विज्ञहरूले बताएका छन्। इम्पेरियल कलेज लन्डन, मेट अफिस र लन्डन स्कुल अफ हाइजिन एन्ड ट्रपिकल मेडिसिनका अनुसन्धानकर्ताले सार्वजनिक गरेको अध्ययनअनुसार जुन महिनाको हिटवेभ सबैभन्दा घातक बनेको थियो।
यस वर्ष इंग्ल्याण्डले इतिहासकै सबैभन्दा तातो जुन अनुभव गरेको छ। नोर्फोकमा तापक्रम ३७.७ डिग्री सेल्सियस पुगेपछि पुरानो रेकर्डसमेत तोडिएको थियो। मे महिनामा पनि ३५.१ डिग्री सेल्सियस तापक्रम मापन गर्दै नयाँ रेकर्ड कायम भएको थियो।
अनुसन्धानकर्ताका अनुसार जलवायु परिवर्तनका कारण ‘हिट डोम’ झन् शक्तिशाली बनेको र तापक्रम ३–४ डिग्री सेल्सियससम्म बढ्न पुगेको हो। रातिको गर्मी कम नभएकाले मानिसहरू थप जोखिममा परेका थिए। यस्तो अवस्थाले मुटु, मस्तिष्कलगायत शरीरका महत्त्वपूर्ण अंगमा असर पुर्याउने भएकाले वृद्धवृद्धा, बालबालिका र दीर्घरोगी बढी जोखिममा पर्ने विज्ञहरूको भनाइ छ।
अध्ययन अनुमानमा आधारित भएकाले वास्तविक मृतक संख्या फरक हुन सक्ने उल्लेख गर्दै विज्ञहरूले आगामी हिटवेभका बेला सतर्कता अपनाउन सबैलाई आग्रह गरेका छन्।








