समाचार सुन्नुहोस :
काठमाडौँ – सरकारले नयाँ प्रविधिमा आधारित राहदानी वितरण सेवा औपचारिक रूपमा सुरु गरेको छ। सोमबार राहदानी विभागमा आयोजित कार्यक्रममा परराष्ट्रमन्त्री शिशिर खनालले ओस्कार गुरुङ र निमेश शाहीलाई राहदानी हस्तान्तरण गर्दै सेवाको शुभारम्भ गरेका हुन्। यसअघि १५ वर्षदेखि फ्रान्सेली कम्पनीले राहदानी छाप्दै आएकोमा अबदेखि जर्मन कम्पनीले छापेका राहदानी प्रयोगमा आएका छन्।
राहदानी विभागका अनुसार नेपालको इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गर्दै करिब एक करोड नेपाली नागरिकको राहदानीसम्बन्धी विवरण सुरक्षित रूपमा नयाँ प्रणालीमा सारिएको छ। नयाँ प्रणाली लागू गर्ने तयारीका लागि केही दिन राहदानी सेवा स्थगित गरिएको थियो। अहिले नयाँ प्रणालीमार्फत सेवा नियमित रूपमा सञ्चालनमा आएको मन्त्री खनालले बताए।
उनले प्रारम्भिक परीक्षण सफल भए पनि सामान्य प्राविधिक समस्या आउन सक्ने भएकाले राहदानी विभाग र परराष्ट्र मन्त्रालयका प्राविधिक टोलीलाई तयारी अवस्थामा राखिएको जानकारी दिए।








