Deneme Bonusu Veren Siteler
बिहिबार, साउन ७, २०८३
Thursday, July 23, 2026

सिउल – बिदेशमा दुख पाएका नेपालीहरुको आवाज त्यहाँस्थित नेपाली नियोगले सुनेन भने वा उनीहरुको पक्षमा बोलेन भने उनीहरुको आवाज सुन्ने आधिकारिक निकाय अरु कोही बाँकी रहँदैन । त्यस्तो अवस्थामा उनीहरुको मन कुँडिनु स्वभाविकै हो ।

इपिएस प्रणालीमा कोरिया आएका नेपालीहरुमाथि उनीहरु कार्यरत कम्पनीबाट भएको ज्यादतीको बिरुद्धमा त्यहाँस्थित दूतावासले आवाज उठाएर उदाहरणीय काम गरेको छ । ज्यादती गर्ने कम्पनीलाई दूतावासले कालोसूचीमा दरार गर्न पहल गरेको छ ।

सोलस्थित नेपाली राजदूतावासले नेपाली कामदारहरुलाई दुख दिने मोक्फो क्षेत्रमा रहेको उनगाङ नामक कम्पनीलाई कालो सूचीमा राख्न सरोकारवालाहरुलाई सिफारिस गरेको छ ।

दूतावासले कालोसूचीमा राख्न त्यस क्षेत्रको रोजगार केन्द्र र श्रम तथा रोजगार मन्त्रालय काठमाडौंलाई पत्राचार गरेको दक्षिण कोरियाका लागि नेपाली दूतावासका एक अधिकारीले बताएका हुन् ।

उद्योग दर्ता नम्बर ११४२ भएको सो कम्पनीका सञ्चालक ओ छाङ मीनले त्यहाँ कार्यरत तीन नेपाली कामदारलाई पटकपटक कुटपिट गर्नुका साथै मानसिक यातना दिएपछि दूतावासले सो पत्राचार गरेको हो । सञ्चालक मीनले ती नेपाली कामदारहरुलाई श्रम सम्झौता अनुसारको खान बस्न पनि नदिने, बत्ती र ग्यासको पैसा पनि असुल्ने गरेका थिए भने कम्पनीको कारणले काम नभएको अवस्थामा पनि इपीएसको नियम बिपरित न्यूनतम तलव कटौती गर्दै आएका थिए ।

त्यहाँ कार्यरत नेपाली कामदारहरुलाई पटक पटक दुर्ब्यबहार गरेपछि कालो सूचीमा राख्नका लागि सिफारिस गर्न दूताबास बाध्य भएको ती अधिकारीले बताएका हुन् । अधिकारीकाअनुसार सो सिफारिस पत्र एचआरडी कोरिया र सम्बन्धित कम्पनीलाई पनि पठाइएको छ । यहाँको एचआरडीले पनि कालो सूचीमा राखे उक्त कम्पनीले अन्य मुलुकका कामदार समेत लिन पाउने छैन । नेपालमा श्रम तथा रोजगार मन्त्रालयलले इपीएस शाखालाई सो को जानकारी गराएपछि उक्त कम्पनीले पुनः नेपाली कामदार माग गर्न पाउने छैन । फलाम सम्बन्धि सो कम्पनीमा तीन नेपाली कार्यरत थिए भने त्यसअघि साहु मीन कै पिटाईले एक नेपाली कामदारको हात भाँचिएको थियो ।

कम्पनी सञ्चालक मीनले नेपाली कामदारमाथि पटक पटक हातपात गरे पनि उचित प्रमाणको अभावका कारण दूतावासले समयमै कारबाही गर्न सकेको थिएन । दूतावासकै सल्लाहमा पीडित कामदारहरुले आफूमाथि हुने दुर्ब्यवहारको भिडियो छायांकन गरेर बुझाएपछि दूतावासले कालो सूचीको कार्वाही प्रक्रिया अघि बढाएको हो ।

कोरियामा नेपाली कामदारमाथि ज्यादतीको घटना धेरै भए पनि त्यस्तो कम्पनीलाई कालो सूचीमा राख्न सिफारिस गरिएको यो पहिलो घटना हो ।

केहि दिन अगाडि मात्र बिदा मनाउन जापान आएका कोरियाका लागि नेपाली राजदूत कमानसिंह लामाले समुद्रपारिसंग संक्षिप्त कुरा गर्दै कोरियामा रहेका नेपालीहरुको समस्यामा दूतावासको सँधै साथ र सहयोग रहने बताए । राजदूत लामाले कोरियामा लुम्बिनीको ब्यापक प्रचारप्रसार गरी बौद्धप्रेमी कोरियनहरुलाई लुम्बिनी भ्रमण गर्न प्रेरित गर्ने उद्देश्यले आउँदो नेपाली नयाँ बर्ष एवं बुद्धजयन्तीको अवसरमा कोरियाको राजधानी सिउलमा बृहत शान्ति दीप प्रज्वलन कार्यक्रमको आयोजना गरिने योजना रहेको र सो अवसरमा नेपालका तर्फबाट उच्चस्तरिय भ्रमणको लागि पहल गरिने बताए । ***

तपाईको प्रतिक्रिया