टोकियो – नेकपा एमालेको भातृ संगठन एनडिएफ जापानको एक कार्यक्रममा सहभागी हुन जापान आएका एमाले नेता खगराज अधिकारीलाई जापानमा रहेका पोखरेलीहरुले स्वागत तथा सम्मान गरेका छन् ।
टोकियो सिनओकुबोस्थित नेपाली खाजाघर म:म: को सभाहलमा आयोजित उक्त कार्यक्रममा नेता अधिकारीलाई कार्यक्रमका संयोजक सुन्दर पौडेल र समाजसेवी कुलदेवी गुरुङले खादा ओढाइ स्वागत तथा सम्मान गरेका थिए । प्रमुख अतिथिको आसनबाट बोल्दै नेता अधिकारीले पोखरा नेपालको मात्र नभई संसारलाई आकर्षण गर्ने भूमि भएको र यसले नेपाललाई चिनाउने गरेकोमा गर्व गर्नुपर्ने बताउनुभयो । यद्दपि पोखराको पर्याप्त रुपमा बिकसित हुन नसकेकोले यसलाई बिकास गर्नको लागि सुधारका कार्यहरु गर्न बाँकी रहेको बताउनुभयो । प्रवासमा बसेर पोखरेलीहरु एकजुट भएकोमा खुशी ब्यक्त गर्दै यो शक्तिमा परिणत हुनुपर्ने बताउनुभयो ।
त्यसैगरी उहाँले सूचना नै अहिलेको सबभन्दा शक्तिशाली भएको बताउँदै यो सबैको पहुँचमा पनि रहेकोले यसको भरमग्दुर प्रयोग गर्नुपर्ने कुरा बताउनुभयो । सहभागीहरुको जिज्ञासाको जवाफ दिने क्रममा नेता अधिकारीले बिबिध कुराहरुमा पनि स्पष्ट पार्नुभएको थियो । यसअघि नेता अधिकारीले राजनीतिक घटनक्रमको बारेमा प्रकाश पार्दै संबिधानसभाका गतिबिधीहरुबारे प्रस्ट्याउनु भएको थियो ।
केही नेताका गलत बिचारले देशलाई घाटा पुरयाएको स्विकार्दै आन्तरिक राजनीतिक समस्या समाधान गर्न सबै पार्टी र नेताहरु इमान्दार हुनुपर्नेमा जोड दिनुभयो । त्यसो नभएमा जनताहरुले मूल्याङ्कन गर्ने बताउनुभयो । पोखराबासीहरुको सो भेला पोखराको समस्या समाधान र बिकासका बिषयमा छलफल गर्ने भनिएपनि राजनीतिक सेरोफेरो मै केन्द्रित रहेको थियो । कार्यक्रमको सञ्चालन देवीलाल भण्डारीले गर्नुभएको थियो । ***