Deneme Bonusu Veren Siteler
बिहिबार, असार १८, २०८३
Thursday, July 2, 2026

टोकियो – जापानको प्रसिद्ध एवं सर्वोच्च शिखर माउन्ट फुजीमा बुधबारदेखि यस वर्षको पर्वतारोहण सिजन औपचारिक रूपमा सुरु भएको छ । अनुकूल मौसमका बीच चारमध्ये दुईवटा प्रमुख पदमार्गहरू खुला भएसँगै बिहान करिब ४:३० बजे बादलको गर्भाशय चिर्दै झुल्किएको पहिलो सूर्योदयलाई आरोहीहरूले शिखरबाट स्वागत गरेका छन् ।

पर्यटकको अत्यधिक चापलाई व्यवस्थित गर्न यो वर्ष यामानासी प्रान्तले सबैभन्दा लोकप्रिय ‘योशिदा’ पदमार्गको पाँचौँ स्टेशनमा दुईवटा ‘सेल्फ-सर्भिस’ भुक्तानी किओस्कहरू जडान गरेको छ । अनलाइनमार्फत पूर्व-दर्ता नगरेका आरोहीहरूले अब यी मेसिनबाटै ४,००० येन (करिब २५ डलर) प्रवेश शुल्क बुझाउन सक्नेछन् । यसका साथै सिजुओका प्रान्ततर्फको ‘सुबासिरी’ पदमार्ग पनि विगतका वर्षहरूभन्दा केही अगावै बुधबारदेखि सञ्चालनमा आएको छ ।

३,७७६ मिटर अग्लो यस हिमालका अन्य दुईवटा पदमार्गहरू भने जुलाई १० देखि खुल्नेछन् । यामानासी प्रान्तले आरोहीहरूलाई सम्भावित भीडबाट बच्न अनलाइनमार्फत पहिल्यै दर्ता गर्न र शुल्क भुक्तानी गर्न कडा आग्रह गरेको छ । स्थानीय प्रशासनले शिखर क्षेत्रमा सुरक्षा सुनिश्चित गर्न २४सै घण्टा गस्ती र उद्धार टोली परिचालन गरेको छ ।

पछिल्लो समय विना तयारी र आधारभूत सामग्री विना नै हिमाल चढ्ने आरोहीहरूको सङ्ख्या बढेपछि दुवै प्रान्तले नियमहरूमा कडाइ गरेका हुन् । गत वर्षको तथ्याङ्कअनुसार योशिदा पदमार्ग प्रयोग गर्नेको सङ्ख्या ५.४ प्रतिशतले बढेर १ लाख २१ हजार नाघेको थियो ।

गत हप्ता जापानमा आएका दुई शक्तिशाली आँधी र शुक्रबार यामानासी प्रान्तलाई केन्द्रविन्दु बनाएर गएको ५.६ म्याग्निच्युडको भूकम्पका बाबजुद आरोहीहरूको उत्साहमा कुनै कमी देखिएको छैन । सिजुओकाका एक हिमाली होटलका कर्मचारीले अपेक्षा गरेभन्दा धेरै आरोहीहरू आएकोमा आश्चर्य प्रकट गरे । अस्ट्रेलियाबाट आएका विद्यार्थी ज्यास्पर ओभरअलले भने, ‘आँधीका कारण यो पदयात्रा होला कि नहोला भन्ने चिन्ता थियो, तर अन्त्यमा अद्भुत सूर्योदय देख्न पाउँदा हामी निकै खुसी छौँ ।’

सन् २०१३ मा युनेस्को विश्व सांस्कृतिक सम्पदामा सूचीकृत माउन्ट फुजीको आधिकारिक पर्वतारोहण सिजन आगामी सेप्टेम्बर १० सम्म जारी रहनेछ । हाल यो हिमालको ज्वालामुखी चेतावनी ‘स्तर १’ (सबैभन्दा न्यून) मा रहेको छ, जसको अर्थ स्थिति सामान्य रहेको र आरोहणका लागि सुरक्षित छ ।

तपाईको प्रतिक्रिया