Deneme Bonusu Veren Siteler
बिहिबार, असार १८, २०८३
Thursday, July 2, 2026

विगत र पहिचान मेटिएझैँ लाग्ने सात समुद्रपारिको बिरानो सहरमा, नबुझिने भाषा र अपरिचित अनुहारहरूको चक्रव्यूहभित्र जब कोही आफ्नै मातृभाषा बोल्ने मान्छे भेटिन्छ, तब लाग्छ- मानौँ उखरमाउलो खडेरीमा शितल चौतारी भेटियो वा भीषण वर्षामा ओत लाग्ने एउटा सुरक्षित छानो पाइयो । तर, जापानको व्यस्त गल्लीहरूमा अचेल यो ‘ओत’ ओत जस्तो छैन, बरु धेरैका लागि यो एउटा यस्तो ‘पासो’ बनिरहेको छ, जहाँ आफ्नैले आफ्नैलाई लुटिरहेका छन् ।

पछिल्लो समय जापानमा नेपाली समुदायको संख्या उकालो लाग्दै जाँदा सुखद भविष्यको सपना बोकेर आएका नवआगन्तुक विद्यार्थी र विभिन्न भिसामा यहाँ पुगेका श्रमिकहरू भाषा र संस्कृतिसँग त संघर्ष गर्छन् नै, त्योभन्दा बढी उनीहरू आफ्नै समुदायभित्रका ‘बिचौलिया’ र ‘स्वार्थी सेन्पाई’हरूबाट प्रताडित हुने क्रम बढेको छ ।

नेपालको गाउँघरमा छिमेकीलाई सघाउन अघि सर्ने तिनै हातहरू जापान पुगेपछि किन आफ्नै भाइ-बहिनीको खुट्टा तान्न र उनीहरूलाई लुट्न उद्यत हुन्छन् ? यो अहिले जापानबासी नेपाली समाजको सबैभन्दा पेचिलो प्रश्न बनेको छ । नवआगन्तुकका लागि भाषा र प्रशासनिक प्रक्रिया पहाड जस्तै हुन्छ । यही कमजोरीलाई केही पुराना नेपालीहरूले ‘दुहुनो गाई’ बनाएका छन् । कोठा खोजिदिने, नयाँ सिमकार्ड निकालिदिने, बैंक खाता खोलिदिने वा एउटा सामान्य ‘आरुबाइतो’ खोजिदिने बहानामा मोटो रकम असुल्ने गिरोह नै सक्रिय छ ।

यहाँको समाजमा सेन्पाई र कोहाईको एउटा विशिष्ट सम्बन्ध हुन्छ । तर, यो सम्बन्ध अहिले शोषणको हतियार बन्न थालेको छ ।  सहयोग गर्ने बहानामा नवआगन्तुक युवतीहरूमाथि शारीरिक शोषणका प्रस्तावहरू राख्ने गरिएको तथ्यहरू बाहिर आउन थालेका छन् । काम मिलाइदिने वा भिसामा सघाइदिने सर्तमा होटलमा रात बिताउन प्रस्ताव गर्ने, आफ्नो कोठामा बोलाएर दबाब दिने वा विभिन्न लोभ देखाएर शारीरिक लाभ लिन खोज्ने ‘सेन्पाई’ हरूको सङ्ख्या बढ्दो छ ।

आफू ठगिएको र शोषणमा परेको कुरा बाहिर ल्याउन खोज्दा उल्टै ‘तिमीहरूले यहाँको नियम बुझेका छैनौ, पुलिसले समात्छ वा भिसा लाग्दैन’ भन्दै कानुनी अनविज्ञताको फाइदा उठाएर मानसिक तनाव दिने र धम्काउनेहरूको पनि यहाँ कमी छैन । यहाँको नियम लगाएर’ डिपोर्ट’ गराइदिन्छु भन्दै धम्काउने प्रवृत्तिले धेरै नेपाली चेलीहरू मानसिक ट्रमामा बाँचिरहेका छन् ।

यत्तिमात्र होइन, नयाँ आएकाहरूलाई ‘रमाइलो गराइदिने’ भन्दै होटल र रेस्टुरेन्टमा लगेर महँगा मदिरा र नास्ता खुवाउने, अनि त्यसको बिल उनीहरूकै थाप्लोमा हालिदिनेहरू पनि उत्तिकै सक्रिय छ । सुरुमा अत्यन्तै सहयोगी र आत्मीय बनेर नजिकिने, विश्वास जित्ने र पछि विभिन्न योजनामा लगानी गर्ने वा पैसा सापटी लिने बहानामा लाखौँ ठगेर अलपत्र पार्ने घटनाहरूले जापानको नेपाली समाजलाई कलंकित बनाउँदै लगेको छ ।

जापानको कडा नियम र कानुनका बारेमा नयाँ मान्छे अनभिज्ञ हुन्छन् । यही अनभिज्ञतालाई पुराना नेपालीहरूले अस्त्र बनाउँछन् । ‘तिमीले यसो गर्यौ भने पुलिसले समात्छ, यति घण्टाभन्दा बढी काम गरेको थाहा पाए भिसा लाग्दैन, मलाई पैसा देउ म मिलाइदिन्छु’ जस्ता डर र धम्की देखाएर नयाँ पुस्तालाई दबाबमा राख्ने गरिएको छ । सहयोग गर्नुपर्ने ठाउँमा उल्टै डर पैदा गरेर उनीहरूलाई मानसिक रूपमा दास बनाउने काम भइरहेको छ ।

आउने देशको कानुन र जीवनशैलीबाट जानकारी नलिएर आउँदा उल्झनमा परेकाहरुलाई थप पीडा दिने गरेको घटनाहरु बढिरहेको बेला नेपालीका लागि भनी खोलिएका संघसंस्थाहरुले पनि चासोका साथ हेरेको देखिँदैन । एनआरएनएदेखि लिएर विभिन्न जातिय र क्षेत्रीय संस्थाहरूका बोर्डले टोकियोका भित्ता भरिएका छन् । तर, जब कुनै नेपाली समस्यामा पर्छ, यी संस्थाहरू केवल ‘मूकदर्शक’ बन्ने गरेको आरोप छ ।

संस्थाका पदाधिकारीहरू फोटो सेसन, ठूला होटलका डिनर र नेपालबाट आउने नेताहरूको स्वागतमा जति व्यस्त हुन्छन्, त्यति पीडित नेपालीको आँसु पुछ्नमा देखिँदैनन् । ‘संस्थाहरू केवल राजनीति गर्ने अखडा बनेका छन्, यहाँ सामान्य नेपालीको दुःख सुन्ने कोही छैन,’ जापानमा लामो समयदेखि व्यवसाय गर्दै आएका एक अगुवाको गुनासो छ ।

यद्यपि, सबै नेपालीलाई एउटै डालोमा हाल्नु अन्यायपूर्ण हुनसक्छ । अहिले पनि जापानमा यस्ता नेपालीहरू छन् जो आफ्नो व्यस्त कार्यतालिकाबाट समय निकालेर नयाँ आउनेहरूलाई नि:शुल्क परामर्श दिन्छन्, बिरामी हुँदा अस्पताल पुर्याउँछन् र समस्यामा पर्दा काँध दिन्छन् । भाषा नबुझेर समस्या पर्दा नि:शुल्क दोभाषेको भूमिका निर्वाह गरिदिने र भोकै-तिर्खै बसेकाहरूलाई आफ्नै भान्छाको तातो गाँस खुवाउने परोपकारी हातहरू अझै जीवितै छन् ।

विडम्बना, यी नि:स्वार्थ र पवित्र भावना भएका सहयोगी हातहरू अचेल ‘ठगी र बिचौलियाको व्यापारिक कोलाहल’ भित्र नराम्ररी ओझेल परेका छन् । सेवाको नाममा मेवा खोज्ने र कमिसन विना पाइला नचाल्नेहरूको संख्या र उनीहरूको प्रचारबाजी यति भयानक छ कि, साँचो अर्थमा सहयोग गर्न चाहनेहरू पनि कतै ‘मलाई पनि उस्तै ठग पो देख्ने हुन् कि’ भन्ने संकोच र डरले पछि हट्न थालेका छन् । फोटो खिचेर सामाजिक सञ्जालमा प्रचार नगर्ने र प्रचारको भोको नभएका यी वास्तविक मानवतावादीहरू, स्वार्थीहरूको विशाल भीड र उनीहरूले फैलाएको विकृतिको छायाँमा हराउँदै जाँदा जापानको नेपाली समाजको सुन्दर र उज्यालो पक्ष विस्तारै धमिलिँदै गएको आभास हुन्छ ।

यहाँ पुगेका धेरै नेपालीको एउटै प्रश्न छ- के नेपालीहरूले साँच्चै मानवता नेपालमै छोडेर आएका हुन् त ? अब यो प्रश्नको उत्तर खोज्ने बेला आएको छ । जापानको भौतिक विकास र पैसाको दौडमा हामीले आफ्नो ‘नेपालीपन’ र ‘संस्कार’लाई बिर्सनुहुँदैन । पैसा त कमाइएला, तर आफ्नै दाजुभाइ र दिदीबहिनीको आँसुमा कमाएको पैसाले कहिल्यै सुख दिँदैन ।

नयाँ आउनेहरूले कसैलाई अन्धभक्त भएर विश्वास गर्नुभन्दा यहाँको नियम-कानुन आफैँ बुझ्ने प्रयास गर्नुपर्छ । अतः विदेशी भूमिमा नेपालीका लागि नेपाली नै सहारा बन्नुपर्नेमा, नेपाली नै शिकारी बन्ने यो प्रवृत्तिको अन्त्य नभएसम्म हाम्रो समुदायको सम्मान उच्च हुन सक्दैन ।

तपाईको प्रतिक्रिया