समाचार सुन्नुहोस :
काठमाडौँ – अस्ट्रेलियाले विभिन्न प्रकारका भिसाको आवेदन शुल्कमा भारी वृद्धि गरेको छ। नयाँ शुल्क बुधबार अर्थात् जुलाई १ देखि लागू भएको हो। नयाँ व्यवस्था अनुसार विद्यार्थी भिसाका लागि आवेदन दिँदा अब २ हजार ५०० अस्ट्रेलियन डलर शुल्क तिर्नुपर्नेछ। यसअघि सन् २०२५ मा यो शुल्क २ हजार ४०० डलर थियो भने २०२४ मा १ हजार ६०० डलर रहेको थियो।
यस्तै, पढाइ पूरा गरेपछि दिइने टेम्पोरेरी ग्र्याजुएट भिसाको शुल्क पनि बढाइएको छ। मार्च २०२६ मा ४ हजार ६०० डलर पुगेको यो शुल्क तीन महिनामै बढाएर ५ हजार ७५० डलर बनाइएको छ।
भिजिट भिसाको शुल्क पनि २०० डलरबाट बढाएर २५० डलर पुर्याइएको छ। अस्ट्रेलियाभित्रै बसेर भिजिटर भिसा आवेदन दिनेहरूका लागि भने शुल्क ५०० डलरबाट बढाएर ६३० डलर कायम गरिएको छ। पछिल्ला वर्षहरूमा अस्ट्रेलियाले विद्यार्थी तथा अन्य भिसाका शुल्क क्रमशः बढाउँदै आएको छ।








